डेडिकेटेड ट्रंक लाइन शुल्क समस्या समाधान गर्न सरकारको प्रक्रिया शुरु
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई उक्त शुल्कको सरलीकरण र पुनरावलोकनका लागि आवश्यक पहल गर्न निर्देशन
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २३ आइतबार
1.1k
Shares
काठमाडौँ । लामो समयदेखि उद्योगी व्यवसायीहरूले उठाउँदै आएको डेडिकेटेड ट्रंक लाइन शुल्कसम्बन्धी समस्या लाई समाधान गर्न सरकारले प्रक्रिया अघि बढाएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई उक्त शुल्कको सरलीकरण र पुनरावलोकनका लागि आवश्यक पहल गर्न निर्देशन दिएको छ।
केही दिनअघि प्रधानमन्त्रीको उपस्थितिमा अर्थमन्त्री, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री, मुख्य सचिव, कानून सचिव तथा नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरूबीच शुल्कसम्बन्धी विस्तृत छलफल भएको थियो। सो बैठकमा उद्योग सञ्चालनमा देखिएका चुनौतीहरू तथा महशुल भुक्तानी प्रक्रियाबाट उद्योगी व्यवसायीलाई परिरहेको दबाबबारे समीक्षा गरिएको थियो।
निर्देशनअनुसार नेपाल विद्युत प्राधिकरण, ऊर्जा मन्त्रालय तथा उद्योग वाणिज्य महासंघबीच सहकार्यमा उद्योगी व्यवसायीले सहज रूपमा उद्योग सञ्चालन गर्न सक्ने वातावरण बनाइनेछ।
ऊर्जा मन्त्रालयका सचिव फणिन्द्र गौतमद्वारा हस्ताक्षरित पत्रमा व्यवसायीहरूले गरेको गुनासो समाधान गर्ने र शुल्क प्रणालीलाई अधिक सरल र उद्योग अनुकूल बनाउन आवश्यक गृहकार्य शुरु गरिएको उल्लेख छ।