देशभर सेवाको गुणस्तर र कभरेज बढाउन टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २३ आइतबार
862
Shares
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देशभरको सञ्चार सेवा र इन्टरनेटको गुणस्तरमा तत्काल सुधार गर्न नेपाल टेलिकमलाई निर्देशन दिएका छन्। आइतबार टेलिकमका प्रतिनिधिहरूसँगको छलफलमा बोल्दै मन्त्री खरेलले देशका अधिकांश ठाउँमा मोबाइल नेटवर्क नटिप्ने समस्या बढेको गुनासो आउने गरेको भन्दै कभरेज विस्तार र बिग्रिएका साइट मर्मतमा लाग्न निर्देशन दिए।
मन्त्री खरेलले नेटवर्क नआउने गुनासो मन्त्री र सचिवसम्म पुग्नु आफैँमा विडम्बना भएको बताए। उनले भने, "यहाँको गुनासो शाखामा आउने गुनासो मन्त्री र सचिवलाई आउनु भएन। नेटवर्कले काम नगरेको गुनासो त मन्त्रीलाई आउनु उचित भएन नि।" उनले टेलिकमको गुनासो सुन्ने शाखा निष्क्रिय जस्तै (मृतप्रायः) भएको उल्लेख गर्दै त्यसलाई तत्काल प्रभावकारी बनाउन र गुनासो कार्यान्वयनमा जान निर्देशन दिए।
उनले प्रतिस्पर्धात्मक बजारमा निजी सेवा प्रदायकले एक दिनमै गर्नसक्ने काम टेलिकमले महिना दिनसम्म किन गर्न नसकेको भन्दै प्रश्न गरे। मन्त्री खरेलले ग्राहकले पैसा तिरेबापत गुणस्तरीय सेवा पाउनुपर्नेमा जोड दिँदै टेलिकमको लागि आवश्यक कार्यविधि बनाउन सरकार लागिपरेको जानकारी दिए। साथै, उनले टेलिकमको हरेक काम कारबाहीमा पारदर्शिता अपनाउनसमेत निर्देशन दिएका छन्।