arrow

भूकम्पले ढल्किएको फेवातालको बाराही मन्दिर पुनर्निर्माण अन्तिम चरणमा, वैशाखभित्रै दर्शन खुल्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २३ आइतबार
Barahi temple.jpg

कास्की। पोखराको लेकसाइडस्थित फेवातालको मध्यभागमा अवस्थित प्रसिद्ध तालवाराही भगवती मन्दिरको पुनर्निर्माण कार्य हाल अन्तिम चरणमा पुगेको छ। विसं २०७२ सालको विनाशकारी भूकम्पका कारण मन्दिर तीन इन्च दक्षिणतर्फ कोल्टिएपछि जोखिम बढेकाले यसको पुनर्निर्माण थालनी गरिएको थियो।

तालवाराही मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष परशुराम पहारीले मन्दिरको पुनर्निर्माण ८० प्रतिशत सकिएको जानकारी दिँदै भूकम्पले ढल्किएको र जोखिम सृजना भएकाले पुनर्निर्माण आवश्यक परेको बताएका छन्। पुरातत्व विभागको प्रत्यक्ष संलग्नतामा प्यागोडा शैलीमै कालिगढहरू भक्तपुर र ललितपुरबाट मगाएर मन्दिरको वर्तमान स्वरूपमै पुनर्निर्माण भइरहेको छ।

मन्दिर पुनर्निर्माण सम्पन्न गर्नका लागि कुल रु एक करोड ८४ लाख लाग्ने अनुमान गरिएको छ। यसमध्ये पुरातत्व विभागले रु ६ लाख सहयोग गरेको छ भने बाँकी रकम गुठीको कोष र भक्तजनबाट सहयोग जुटाएर सम्पन्न गरिनेछ। पुनर्निर्माण एक वर्षभित्र सक्ने भनिए तापनि विविध कारणले दुई वर्ष लागेको छ। गुठी व्यवस्थापन समितिका कोषाध्यक्ष निर्मल खत्रीका अनुसार आउँदो वैशाखभित्र सर्वसाधारण भक्तजनले दर्शन तथा पूजाआजा गर्न सक्नेगरी काम सक्ने तयारी छ। हाल मन्दिरको छानो छाउने र वरपरको रेलिङ निर्माणको काम बाँकी रहेको छ।

मन्दिरको इतिहास निकै पुरानो छ। कास्कीका तत्कालीन राजा कुलमण्डन शाहले सर्वप्रथम खरको झुप्रो बनाएर स्थापना गरेको र यसको अस्तित्व १६६९ सालदेखि कायम रहेको बताइन्छ। विसं २०१७ मा तत्कालीन राजा महेन्द्रले अहिलेको स्वरूपमा मन्दिर निर्माण गरिदिएपछि यसले थप चर्चा पाएको हो। मन्दिरका पुजारी उमेश पहारीका अनुसार प्राचीनकालमा माटोको ढिस्कामा एउटा शिलालाई नै वाराहीका रूपमा पुजिन थालिएको थियो।

स्थानीय अग्रज रमेशबहादुर भट्टराईका अनुसार, परापूर्वकालमा फेवाताल रहेको ठाउँमा बस्ती थियो र एक वृद्ध जोगीको भविष्यवाणीअनुसार डुबान भएपछि अहिलेको मन्दिर रहेको टापु बन्यो र त्यहीँ मूर्ति स्थापित भयो भन्ने किंवदन्ती छ।

फेवातालको मध्यभागमा अवस्थित यो मन्दिर पोखरा आउने पर्यटकको मुख्य गन्तव्य हो। यहाँबाट माछापुच्छ्रे हिमालको छायाँ फेवातालमा परेको मनोरम दृश्यका साथै सराङकोट, पुम्दीकोट र विश्व शान्ति स्तूपजस्ता पर्यटकीय स्थलहरू देख्न सकिन्छ। तालको किनारबाट पाँच मिनेटमा डुङ्गा चढेर मन्दिरसम्म पुग्न सकिने र चिताएको पुग्ने धार्मिक विश्वासले सबैलाई आकर्षित गरेको पोखरा महानगरपालिका–६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ