सपनाका आधारमा उत्खनन: माइखोला किनारमा पाथीभराको 'शिला' प्रकट
शिला भेटिएपछि उक्त स्थानमा दर्शन र अवलोकनका लागि भक्तजनहरूको ठूलो भीड
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २३ आइतबार
837
Shares
इलाम। इलाम नगरपालिका–९, राजदूवाली पुलछेउको माइखोला किनारमा शिला (ढुङ्गा) उत्पन्न भएको भन्दै उक्त स्थानमा अवलोकन र दर्शन गर्नेहरूको ठूलो भीड लागेको छ। स्थानीयहरूले यस घटनालाई ‘अद्भुत धार्मिक घटना’ को रूपमा लिएका छन्।
यो स्थान चर्चामा आउनुको मुख्य कारण इलाम नगरपालिका–४ की २३ वर्षीया प्रमिला कार्की हुन्। उनले सपनामा स्वयं देवी पाथीभरा माता प्रकट भई उक्त स्थानमा पाँचवटा शिला रहेको देखिएको बताएकी थिइन्। उनको सपनालाई आधार मानेर स्थानीय बासिन्दाहरूको उपस्थितिमा सो स्थानमा उत्खनन गर्दा लाम्चो आकारको शिला फेला परेको थियो।
शिला भेटिएपछि इलाम क्षेत्रमा धार्मिक उत्साह र कौतुहलता बढेको छ। अहिले त्यहाँ दर्शनका लागि भक्तजनहरूको भीड बाक्लिएको छ। मानिसहरू गाडी रिजर्भ गरेर समेत राजदूवाली पुगिरहेका छन् भने नयाँनयाँ माता एवं धामीझाँक्रीहरू आएर पूजा गरिरहेका छन्। स्थानीयले उक्त शिलालाई पाथीभरा माताको अद्भुत लीला र आस्थाको प्रतीकको रूपमा लिएका छन्।
गत १८ असोजको राति आएको बाढी र पहिरोका कारण राजदूवाली सडकखण्ड क्षतविक्षत भएको थियो, र संयोगवश सोही स्थानमा शिला भेटिएको हो।
यद्यपि, शिलालाई कहाँ स्थापना गर्ने भन्ने विषयमा स्थानीयहरूबीच विवाद उत्पन्न भएको छ। विवादको मुख्य विषय शिलालाई कन्या (प्रमिला कार्की) को घरमा मन्दिर निर्माण गरी स्थापना गर्ने वा माइखोला किनारमै राख्ने भन्ने रहेको छ। विवादकै कारण हाल उक्त शिलालाई सोही स्थानमै सुरक्षित राखिएको स्थानीयहरूले बताएका छन्।