arrow

'श्वेत हत्या' को आरोप लगाउँदै ट्रम्पद्वारा जी-२० शिखर सम्मेलन बहिष्कारको घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २३ आइतबार
trump-10-18.jpg

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण अफ्रिकामा स्वेत अफ्रिकीहरूलाई योजनाबद्धरूपमा 'हत्या' गरिएको र उनीहरूको जग्गाहरू अवैध रूपमा जफत गरिएको दाबी गर्दै नोभेम्बरमा हुने जी–२० शिखर सम्मेलनमा कुनै पनि अमेरिकी सरकारी अधिकारी उपस्थित नहुने घोषणा गरेका छन्।

ट्रम्पले आफ्नै सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै भने, “जी–२० दक्षिण अफ्रिकामा आयोजना गरिनु पूर्ण रूपमा लज्जाको बिषय हो। यी मानवअधिकार उल्लङ्घनहरू जारी रहेसम्म कुनै पनि अमेरिकी सरकारी अधिकारी उपस्थित हुने छैनन्।”

यसअघि उपराष्ट्रपति जेडी भान्सले बैठकमा सहभागी हुने भनिए पनि ट्रम्पले उक्त निर्णय संशोधन गर्दै अमेरिकी प्रतिनिधिहरूले यसलाई पूर्ण रूपमा वेवास्ता गर्ने बताए। ट्रम्पले सन् २०२६ को जी–२० शिखर सम्मेलन विवादास्पद रूपमा फ्लोरिडाको मियामीमा रहेको आफ्नै गल्फ रिसोर्टमा आयोजना गर्ने घोषणा पनि गरे।

दक्षिण अफ्रिकी विदेश मन्त्रालयले ट्रम्पको टिप्पणीलाई 'खेदजनक' भनेको छ। मन्त्रालयले 'अफ्रिकीहरूलाई विशेष रूपमा गोरा समूहको देशको रूपमा चित्रण गर्नु ऐतिहासिक भए पनि यो समुदायले सतावटको सामना गरिरहेको दाबी तथ्यले प्रमाणित नगर्ने' स्पष्ट पारेको छ।

प्रिटोरियाले आफ्नो जी–२० अध्यक्षताको विषयवस्तु ‘एकता, समानता, र दिगोपन’ रोजेको बताउँदै जातीय विभाजनबाट लोकतन्त्रसम्मको आफ्नै यात्रालाई ध्यानमा राखेर राष्ट्र जी–२० भित्र वास्तविक एकताको भविष्यको लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

जनवरीमा ह्वाइट हाउस फर्केदेखि ट्रम्पले दक्षिण अफ्रिकामा 'श्वेत नरसंहार' हुने गरेको दावी गर्दै कठोर नीतिहरू अपनाउँदै आएका छन्। यस वर्षको सुरुमा उनले दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसाविरूद्ध बोल्दै रङ्गभेदपछिको सरकारले गोरा किसानहरू विरुद्ध अभियान चलाएको आरोप लगाएका थिए।

यसबाहेक, ट्रम्प प्रशासनले वार्षिक रूपमा स्वीकार गर्ने शरणार्थीहरूको सङ्ख्यालाई रेकर्ड न्यूनतम सङ्ख्या (सात हजार ५००) मा घटाउने र गोरा दक्षिण अफ्रिकीहरूलाई प्राथमिकता दिने योजना घोषणा गरेको थियो। साथै, गाजामा इजरायललाई नरसंहारको आरोप लगाएको दक्षिण अफ्रिकाको अन्तर्राष्ट्रिय न्याय अदालतको मुद्दा र दक्षिण अफ्रिकाबाट आयातच हुने सामानमा ३० प्रतिशत कर लगाइएको विषयमा पनि दुई देशहरू विवादमा छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ