काठमाडौं । अमेरिकी औषधि दिग्गज फाइजरले आफ्ना मुख्य प्रतिद्वन्द्वी नोभो नोर्डिस्क ले मोटोपन उपचारमा विशेषज्ञता हासिल गरेको फर्म मेटसेरालाई अधिग्रहण गर्ने बोलकबोल रोक्ने घोषणा गरेपछि अब मेटसेरालाई गाभ्ने तयारी गरेको जनाएको छ।
मोटोपनको उपचारमा विशेषज्ञता हासिल गरेको अमेरिकी फर्म मेटसेरालाई फाइजर र वेगोभी तथा ओजेम्पिक जस्ता औषधि उत्पादक नोभो नोर्डिस्क दुवैले बढ्दो प्रस्तावहरू दिँदै आएका थिए। तर, डेनिस फर्म नोभो नोर्डिस्कले शनिबार मेटसेरा अधिग्रहण गर्ने कुनै थप चाहना नराख्ने बताएपछि फाइजरको लागि बाटो खुलेको हो।
शुक्रबार जारी गरिएको प्रेस विज्ञप्तिमा मेटसेराले फाइजरले प्रति शेयर ८६.२५ डलरसम्ममा यसलाई प्राप्त गर्न सुधारिएको प्रस्ताव गरेको बताएको छ। यसरी हेर्दा, मेटसेराको सबै सेयर किन्न करिब ४१० अर्ब अमेरिकी डलर को सम्झौता भएको छ। फाइजरको यो पछिल्लो प्रस्ताव सेप्टेम्बरमा भएको प्रारम्भिक सम्झौताको तुलनामा मेटसेराको मूल्याङ्कन दोब्बर हुनेछ।
मेटसेराको सञ्चालक समितिले स्टकहोल्डरहरूलाई संशोधित फाइजर मर्जर सम्झौतालाई स्वीकार गर्न र मर्जरलाई अनुमोदन गर्न 'सर्वसम्मतिले सिफारिस' गरेको छ। शेयरधनीहरूको नोभेम्बर १३ को बैठकपछि ‘तुरुन्तै’ सम्झौता कार्यान्वयनमा आउने अपेक्षा गरिएको छ।
फाइजरले अधिग्रहणपछि रणनीतिक उद्देश्यहरूलाई अगाडि बढाउने र व्यापार विकासका लागि अवसरहरूको मूल्याङ्कन गर्ने कार्यलाई जारी राख्ने बताएको छ। विश्व स्वास्थ्य सङ्गठनले विश्वभर एक अर्बभन्दा बढी मानिसहरू मोटोपन र ८० करोडभन्दा बढी मानिसहरू मधुमेहको समस्यासाथ बाँचिरहेको उल्लेख गरेको सन्दर्भमा यससम्बन्धी औषधी उत्पादन गर्ने मेटसेराको अधिग्रहणलाई फाइजरले विशेष चासोका साथ हेरेको छ।