न्यून बजेटले निर्माण ठप्प, स्थानीयको आशा निराशामा परिणत
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २३ आइतबार
788
Shares
दोधारा चाँदनी (कञ्चनपुर)। कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको टिङ्करसम्म महाकाली करिडोर निर्माण हुने खबरले डेढ दशकअघि स्थानीयमा जगाएको उत्साह सरकारी उदासीनता, प्रक्रियागत उल्झन र बजेट अभावका कारण निराशामा परिणत भएको छ।
२०६५ सालमा डडेल्धुराबाट भीमदत्त नगरपालिका–९, टुडिखेल बसाइँ सरेर आउनुभएका लोकबहादुर थापामगरले करिडोर निर्माणपछि महेन्द्रनगर बजारमा सहज पहुँच, शिक्षा, स्वास्थ्य र व्यापारको सम्भावना खुल्ने ठूलो आशा राखेका थिए। तर, डेढ दशक बितिसक्दा पनि सडक नबन्दा बिरामीलाई बोकेर अस्पताल लैजानुपर्ने र नातिनीलाई समेत अध्ययनका लागि कैलाली पठाउनुपर्ने बाध्यता रहेको उनले गुनासो गरे।
बाइस वर्षदेखि टुँडिखेलमा बस्दै आउनुभएका लीला पुनमगर पनि करिडोरको ट्रयाक १२ वर्षपछि मात्र खुलेकोमा उत्साह घटेको बताउँदै सरकारले यो सडकलाई प्राथमिकतामा राखेर छिटो सम्पन्न गर्नुपर्नेमा जोड दिए।
स्थानीय रमेश नायकका अनुसार महाकाली करिडोर यातायातका लागि मात्र नभई भारतसँगको व्यापारिक पहुँच, घरेलु उद्योगको विस्तार र पर्यटनका लागि समेत अत्यन्त महत्त्वपूर्ण छ। सुदूरपहाडका जनताका लागि यो 'लाइफलाइन' भएको र सञ्चालनमा आएपछि आठ घण्टाको यात्रा दुई घण्टामै छोटिने उनको भनाइ छ। यो करिडोर बनेपछि चीन र भारतसँग व्यापारको ढोका खुल्ने तथा रोजगारीका थुप्रै अवसर सृजना हुने अपेक्षा गरिएको छ। सुदूरपश्चिम प्रदेशका करिब आठ लाख जनता प्रत्यक्ष लाभान्वित हुने र धार्मिक हिसाबले कैलाश मानसरोवर भ्रमणको सुविधा उपलव्ध हुने देखिन्छ।
सुदूरपश्चिमको आर्थिक विकासको मेरुदण्ड मानिएको ४१३ किलोमिटर लामो महाकाली करिडोर (कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुला जोड्ने) आर्थिक वर्ष २०६५/६६ देखि सुरु भएको थियो र आर्थिक वर्ष २०८०/८१ सम्म पूरा गर्ने लक्ष्य थियो। तर, बजेट अभाव, रुख कटानलगायत प्रक्रियागत उल्झनले योजना अलपत्र अवस्थामा पुगेको छ।
महाकाली करिडोर सडक योजना कार्यालयका सूचना अधिकारी रामचन्द्र जैशीले जानकारी दिएअनुसार, चालु आर्थिक वर्षमा करिडोर निर्माणका लागि रु २२ करोड ९७ लाखमात्र न्यून बजेट विनियोजन भएको छ। कार्यालयले निर्माण व्यवसायीको डेढ अर्ब रुपैयाँ दायित्व भुक्तानी गर्नुपर्ने अवस्थामा यति थोरै बजेटले नयाँ ठेक्का खोलेर काम गर्न सकिने अवस्था नरहेको र यही गतिमा बजेट आए योजना सम्पन्न गर्न अझै वर्षौँ लाग्ने उनले स्पष्ट पारे।
योजना कार्यालयका अनुसार हालसम्म कञ्चनपुरमा ११ किमि, डडेल्धुरामा २८ किमि, बैतडीमा ११४ किमि र दार्चुलामा ७७ किमि मार्ग खोलिएको छ। बाँकी खण्डहरू, विशेष गरी तुसारापानीदेखि टिङ्करसम्मको ७९ किलोमिटर सडकखण्डमा मार्ग खोल्ने काम नेपाली सेनाले गरिरहेको छ।