arrow

जलवायु परिवर्तन

जलवायु न्याय र तत्कालीन कार्यका लागि नेपालको विश्वसामु आह्वान

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २२ शनिबार
jalbayeu.jpg

काठमाडौँ। जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको ३०औँ सम्मेलन (कोप–३०) पूर्वसन्ध्यामा भएको ‘लिडर समिट’ मा नेपालले विश्वसामु साझा सहकार्य, जलवायु न्याय र दिगो भविष्यका लागि तत्कालीन कार्यको आह्वान गरेको छ।

वन तथा वातावरण मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले कात्तिक २० र २१ गते भएको उक्त सम्मेलनमा नेपालको तर्फबाट वक्तव्य दिँदै नेपालले प्रकृतिमैत्री प्रणाली र वातावरणीय संरक्षणलाई सधैँ प्राथमिकतामा राखेको बताए। उनले नेपालको ४६ प्रतिशत भूभाग वनले ढाकिएको र सगरमाथा तथा हिमालय अर्बौं जनताका लागि जैविक विविधता, स्वच्छ हावा र पानीका प्रमुख स्रोत भएकाले नेपाल विश्व जलवायु प्रणाली सन्तुलनमा महत्त्वपूर्ण योगदानकर्ता रहेको उल्लेख गरे।

सचिव डा. मिश्रले नेपालको कार्बन उत्सर्जन अत्यन्त न्यून भए पनि बलियो नीति र कार्यमार्फत अग्रणी भूमिकामा रहेको बताए। उनले नेपालको एनडिसी ३.० र एनएपीले पेरिस सम्झौताप्रतिको प्रतिबद्धता झल्काएको बताउँदै नेपाल जीवाष्म इन्धनको चरणबद्ध अन्त्य गर्दै विद्युतीय सवारी र स्वच्छ ऊर्जातर्फ तीव्र रूपान्तरणमा रहेको जानकारी दिए।

डा. मिश्रले यस वर्ष काठमाडौँमा सम्पन्न सगरमाथा संवादले बहुपक्षीयता सुदृढ गर्ने र तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसभित्र सीमित राख्ने साझा प्रतिबद्धतालाई पुनः पुष्टि गरेको अवगत गराए। यी प्रयासका बाबजुद नेपालमा जलवायु सङ्कट तीव्र बन्दै गएको र यस वर्ष मात्र बाढी, पहिरो, खडेरी, हिमताल फुट्ने घटना र वन डढेलोका कारण तीन सयभन्दा बढी नेपालीले ज्यान गुमाउनुपरेको अवगत गराए।

उनले पेरिस सम्झौताले परिणाम दिन थालेको भए पनि आवश्यक गति र परिमाण अपेक्षानुसार नभएको उल्लेख गर्दै कमजोर देशका लागि वित्त र प्रविधिको पहुँच सहज र सुलभ बनाउनुपर्नेमा जोड दिए। नेपालले कोप–३० बाट १.५ डिग्री सेल्सियस तापक्रम लक्ष्यलाई मार्गमा राख्ने रोडम्याप कार्यान्वयन, अनुकूलन कोषमा तीन गुणा वृद्धि, र हानिनोक्सानी कोषलाई पूर्ण रूपमा कार्यान्वयन गरी कमजोर देशहरूले प्रत्यक्ष र सरल पहुँच पाउने व्यवस्था को अपेक्षा गरेको बताए।

कोप–३० मुख्य सम्मेलन यही नोभेम्बर १० देखि २१ तारिखसम्म आयोजना हुँदैछ। वन मन्त्रालयका अनुसार, नेपालले कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियारको नेतृत्वमा नौ सदस्यीय टोलीसहित सहभागिता जनाउने तयारी गरेको छ। सम्मेलनमा लागि मन्त्रीसहितको टोली कात्तिक २९ गते ब्राजिल प्रस्थान गर्ने वन मन्त्रालयको जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख डा. महेश्वर ढकालले जानकारी दिए।

परिवर्तित जलवायुका कारण नेपालमा पछिल्लो समय मनसुनी वर्षाको प्रकृति, मात्रा तथा समय तालिकामा व्यापक हेरफेर देखिन थालेको र यसबाट ठूला जलवायुजन्य हानिनोक्सानीको सामना गर्नुपरिरहेकाले नेपालले कोप–३० मा जलवायुजन्य हानिनोक्सानीको विषयलाई बढी जोड दिने तयारी गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ