लाइसेन्स छपाइ पारदर्शी बनाउन मन्त्री खरेलको निर्देशन
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २१ शुक्रबार
999
Shares
काठमाडौँ। सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले सवारीचालक अनुमति पत्र (लाइसेन्स) छपाइको काम पारदर्शी र त्रुटिरहित बनाउन सुरक्षण मुद्रण केन्द्रलाई निर्देशन दिएका छन्।
शुक्रवार सुरक्षण मुद्रण केन्द्रमा लाइसेन्स छपाइ कार्यको शुभारम्भ गर्दै मन्त्री खरेलले केन्द्रलाई भ्रष्टाचारविरुद्ध शतर्क रहन आग्रह गरे। उनले सुरक्षण मुद्रण केन्द्र भ्रष्टाचारको विवादबाट पूर्णरुपमा मुक्त नभएको उल्लेख गर्दै खरिद गरिएका सामग्रीका बारेमा समेत प्रश्न उठ्ने गरेको बताए। उनले लाइसेन्स वितरणमा हुने ढिलासुस्ती र त्रुटिलाई न्यूनीकरण गर्नेगरी काम गर्न निर्देशन दिएका छन्।
मन्त्री खरेलले लाइसेन्स वितरणलाई सुशासनको प्रत्याभूति सँग जोड्दै भने, "सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीज्यूले लाइसेन्स लिने कुरा जनताको जीवनसँग जोडिएको र लाइसेन्स मात्र दिनसक्दा पनि जनतामा सुशासनको प्रत्याभूति हुने स्पष्ट भन्नुभएको छ।" उनले सुशासनकै लागि जेनजी आन्दोलन भएको र आज त्यसैको सुरुवात गर्न खोजिएको बताउँदै यातायात व्यवस्था विभागबाट आउने तथ्याङ्कमा कुनै त्रुटि नहोस् भन्नेमा जोड दिए।
गत भदौ अन्तिम साताको जेन–जी आन्दोलनको क्रममा यातायात व्यवस्था विभागको लाइसेन्स छाप्ने मेसिनसहितका उपकरणहरू आगजनीबाट क्षतिग्रस्त भएपछि विभागले सुरक्षण मुद्रण केन्द्रबाट लाइसेन्स छाप्न लागेको हो। विभागसँगको समन्वयमा केन्द्रले पहिलो चरणमा १२ लाख सवारीचालक अनुमतिपत्र छाप्नेछ।