१२५ दल दर्ता, १८ दल प्रक्रियामा: निर्वाचन सुरक्षाको सुनिश्चिततामा सांसदहरूको जोड
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २१ शुक्रबार
957
Shares
काठमाडौँ। संघीय संसद अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको शुक्रबारको बैठकमा निर्वाचन आयोगले हालसम्म १२५ वटा राजनीतिक दलहरू दर्ता भइसकेको जानकारी दिएको छ। १८ वटा राजनीतिक दलहरूले दर्ताका लागि निवेदन दिएको र तीमध्ये ९ वटा दलका कागजातहरू विचाराधीन अवस्थामा रहेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए।
प्रवक्ता भट्टराईले निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता मंसिर १ देखि १० गतेसम्म राखिएको र कार्तिक मसान्तसम्म दल दर्ताको प्रमाणपत्र प्राप्त गरिसकेका दलहरूले यस अवधिमा निर्वाचनमा भाग लिन दल दर्ता गर्न सक्ने जानकारी दिए।
बैठकमा उपस्थित राष्ट्रिय सभा सदस्यहरूले मुलुकमा संविधान जोगाइराख्न र सङ्कटबाट निकाल्न निर्वाचनको विकल्प नभएको कुरामा जोड दिँदै सरकारले शान्ति सुरक्षाको भरपर्दो व्यवस्था गर्नुपर्ने माग राखे। सांसद जगप्रसाद शर्माले निर्वाचन स्थलहरूमा आन्दोलनका क्रममा आगजनी तथा तोडफोड भएको अवस्थामा सरकारले निर्वाचनमय वातावरण बनाउन नसकेको जिकिर गरे।
सांसदहरूले निर्वाचनमा शान्तिसुरक्षाको सुनिश्चिततामा सरकारको ध्यानाकर्षण गराएका छन्। सांसद विष्णुकुमारी सापकोटाले 'जेन जी आन्दोलन' का कारण नागरिक त्रसित रहेको भन्दै सुरक्षाको सुनिश्चिततामा विशेष ध्यान दिनुपर्ने माग गरिन्।