सर्लाहीमा ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु, चालक फरार
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २१ शुक्रबार
935
Shares
सर्लाही। सर्लाहीको कबिलासी नगरपालिका–६, मदनपुर नजिक बुधवार साँझ भएको सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
बुधबार साँझ करिब ६ बजेर १५ मिनेट जाँदा आलु र प्याज लोड गरिएको ज १ त ६२०३ नम्बरको ट्र्याक्टर र सोही दिशातर्फ गइरहेको बा ४७ प ९८९२ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा यो दुर्घटना भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक चन्द्रनगर गाउँपालिका–५, महोनपुरका ४२ वर्षीय सुरेन्द्र ठाकुर लोहारलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा पुर्याइएको थियो, तर चिकित्सकहरूले साँझ ७ बजेर ५५ मिनेटमा उनलाई मृत घोषणा गरे।
मोटरसाइकलमा पछाडि सवार बरहथवा नगरपालिका–७ का १९ वर्षीय राजु ठाकुर लोहार घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार उनको निधार, दाहिने हातको कुहिनो र तिघ्रामा चोट लागेको छ र उनको अवस्था मध्यम रहेको छ।
दुर्घटना गराएपछि ट्र्याक्टर चालक फरार रहेका छन्। प्रहरीले ठक्कर दिने ट्र्याक्टर नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।