arrow

निर्वाचन गराउन प्रधानमन्त्री कार्की प्रयासरत: आन्फ्रेलसँगको भेटमा प्रतिबद्धता

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २१ शुक्रबार
pm-pratibadhata.jpg

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले आसन्न निर्वाचनमा एक थोपा रगत नबग्ने र एक जना पनि घाइते नहुने गरी चुनाव सम्पन्न गराउन आफू प्रयासरत रहेको बताएकी छिन्।

अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूको सञ्जाल द एसिएन नेटवर्क फर फ्रि इलेक्सन्स (आन्फ्रेल) को प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री कार्कीले शान्तिपूर्ण र भयरहित वातावरणमा स्वच्छ र निष्पक्ष चुनाव गराउन सरकार प्रतिबद्ध रहेको जानकारी दिइन्। थाइल्यान्डको ब्यांककमा सचिवालय रहेको आन्फ्रेलका कार्यकारी निर्देशक ब्रिजा रोसालेसको नेतृत्वको टोली नेपालको निर्वाचन वातावरणको मूल्यांकन गर्न काठमाडौँ आइपुगेको हो।

प्रतिनिधिमण्डलका सदस्यहरूले प्रधानमन्त्री कार्कीको लामो समयदेखिको न्यायिक अनुभव लाई उल्लेख गर्दै उनको नेतृत्वको सरकारले स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउनेमा आफूहरू विश्वस्त रहेको बताए। उनीहरूले न्यायिक अनुभवले लोकतान्त्रिक संस्थाहरूलाई जोगाउँदै राजनीतिक पुनःसंरचना सम्भव हुने विश्वास व्यक्त गरे।

जवाफमा प्रधानमन्त्री कार्कीले अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूको चासो र उपस्थितिले नै निर्वाचन सुरु भइसकेको अनुभूति गराएको प्रतिक्रिया दिइन्। उनले स्वस्थ निर्वाचनको वातावरण बनाउन नागरिक समाज र पर्यवेक्षकको पनि महत्त्वपूर्ण भूमिका रहने बताइन्।

आन्फ्रेल प्रतिनिधिहरूसँगै नेपालको निर्वाचन पर्यवेक्षकहरूको सञ्जाल नियोकका पदाधिकारी तथा सदस्यहरू पनि भेटमा सहभागी थिए। उनीहरूले यसपालि पहिलोपल्ट मतदान गर्ने युवा मतदातामा व्यापक उत्साह देखिएको भन्दै मतदाता शिक्षामा विशेष जोड दिन सरकारलाई सुझाव दिएका छन्। सरकारले आगामी फागुन २१ गते तोकिएको निर्वाचन सम्पन्न गराउन तयारी तीव्र पारेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ