विद्यालयमा भएको आगलागीको कारण खुलेन, कार्यालयका सबै सामान नष्ट
जनकबहादुर शाही,
प्रकाशित २०८२ कार्तिक २० बिहिबार
1.4k
Shares
सिमकोट । हुम्लाको अदानचुली गाउँपालिका–३ स्थित छत्रपाल आधारभूत विद्यालयमा आगलागी भएको छ । आगलागीबाट विद्यालयको कार्यालय कक्षमा रहेका सम्पूर्ण सामग्री जलेर नष्ट भएका छन् ।
ढुंगामाटोले बनेको र जस्ताले छाएको दुई कोठे दुई तले भवनमा आगो लागेको हो। विद्यालयको अफिस कोठामा ताला नलगाइएको अवस्थामा राति एक्कासी आगलागी भएको बताए अदानचुली गाउँपालिकाका उपाध्यक्ष कर्ण रोकायाले बताए ।
उनका अनुसार कार्यालयमा कसले आगो लगाएको भन्ने खुलेको छैन। स्थानीयवासी र प्रहरीले संयुक्त प्रयासमा आगो नियन्त्रणमा लिएका थिए। हाल घटनाबारे थप अनुसन्धान भइरहेको उपाध्यक्ष रोकायाले बताए।
विद्यालय व्यवस्थापनका अनुसार कार्यालयमा रहेका कम्प्युटर, किताब, दराज, कार्पेट, बोर्ड, पोस्टर, चार्ट लगायतका सम्पूर्ण कागजात र सामग्री जलेर नष्ट भएका छन् ।
आगलागी कसरी र किन भएको भन्ने कारण हालसम्म नखुलेको र घटना सम्बन्धी अनुसन्धान भइरहेको प्रहरी चौकी श्रीनगरलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।