यात्रु रेल मालवाहक रेलसँग ठोक्किँदा कम्तीमा ११ को मृत्यु
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १९ बुधबार
2k
Shares
काठमाडौँ । भारतमा मंगलबार राति एक यात्रु रेल मालवाहक (कार्गो) रेलसँग ठोक्किँदा कम्तीमा ११ जनाको ज्यान गएको छ भने २० जना घाइते भएका छन् ।
भारतको छत्तीसगढ राज्यको राजधानी रायपुरबाट करिब एक सय १५ किलोमिटर उत्तरपूर्वस्थित बिलासपुर नजिकै उक्त दुर्घटना भएको हो । रेलले कार्गो ट्रेनलाई पछाडिबाट ठक्कर दिएको थियो ।
दुर्घटना पश्चात् उद्धारकर्ताले घण्टौँसम्मको अथक प्रयास परेर शव बाहिर निकालेका थिए । उद्धारकर्मीका उनका अनुसार तीन जना यात्रुको घटनास्थलमै मृत्यु भएको थियो । बुधबार बिहानसम्म उद्धार कार्य सकिएको र रेल आवागमन पुनः शुरू गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मृतकमध्ये यात्रु रेलका लोकोमोटिभ चालक पनि छन् भने गम्भीर रूपमा घाइते सह-पाइलट महिलाको निजी अस्पतालमा उपचार भइरहेको छ ।
घाइते सबैलाई नजिकैका अस्पतालमा उपचारका लागि पठाइएको छ ।
भारतीय रेल प्रशासनले एक विज्ञप्ति जारी गर्दै घटनाको कारणबारे विस्तृत अनुसन्धान शुरू भएको जनाएको छ । साथै, मृतक र घाइतेका परिवारजनलाई आर्थिक सहयोग प्रदान गरिने प्रतिबद्धता पनि जनाएको छ ।
छत्तीसगढका मुख्यमन्त्री विष्णु देव साईले यस दुःखद घटनाप्रति गहिरो शोक व्यक्त गर्दै शोकाकुल परिवारप्रति हार्दिक समवेदना प्रकट गरेका छन् ।
भारतमा यस्ता रेल दुर्घटना दुर्भाग्यवश असामान्य होइनन् । देशभर १४ हजार रेलमार्गमार्फत दैनिक करिब एक करोड २० लाखभन्दा बढी यात्रु ६४ हजार किलोमिटर लामो ट्र्याक सञ्जालमा यात्रा गर्छन् । रेल सुरक्षा सुधारका लागि सरकारको निरन्तर प्रयास भइरहे पनि प्रत्येक वर्ष सयौँ दुर्घटना हुने गरेका छन्, जसका कारण प्रायः मानव त्रुटि वा पुरानो सङ्केत प्रणालीलाई जिम्मेवार ठानिन्छ ।
सन् २०२३ मा भारतको पूर्वी भागमा भएको भीषण रेल दुर्घटनामा दुई सय ८० भन्दा बढी यात्रुले ज्यान गुमाएका थिए । यो देशको इतिहासमै सबैभन्दा भयावह रेल दुर्घटनामध्ये एक मानिन्छ ।