काठमाडौं। अमेरिकाको लुईसभिलस्थित मुहम्मद अली इन्टरनेशनल एयरपोर्टबाट उडान भर्ने बित्तिकै एक यूपीएस कार्गो विमान दुर्घटनाग्रस्त भएको छ। मङ्गलबार साँझ भएको यो दुर्घटनाबारे अमेरिकी संघीय विमान प्रशासनले जानकारी दिएको हो।
दुर्घटनामा परेको विमान यूपीएसको फ्लाइट २९७६ रहेको र यो विमान होनोलुलुतर्फ गइरहेको अवस्थामा स्थानीय समयानुसार साँझ ५ः१५ बजे दुर्घटनाग्रस्त भएको पुष्टि गरिएको छ।
अमेरिकी संघीय विमान प्रशासनका अनुसार उक्त विमान म्याकडोनेल डगलस एमडी–११ मोडेलको थियो। एफएएले जारी गरेको विवरण प्रारम्भिक रहेको र परिवर्तन हुन सक्ने जनाएको छ। विमान प्रशासन तथा नेसनल ट्रान्सपोर्टेशन सेफ्टी बोर्डका अधिकारीहरू छानबिनका लागि दुर्घटनास्थलतर्फ प्रस्थान गरिसकेका छन्।
यूपीएस एयरलाइन्सले पनि आफ्नै एक कार्गो विमान दुर्घटनामा परेको जानकारी पाएको बताउँदै, "सम्बन्धित विवरण चाँडै सार्वजनिक गरिनेछ," भनी सामाजिक सञ्जाल ‘एक्स’ मार्फत जानकारी दिएको छ।
अमेरिकी यातायात मन्त्री शोन डफीले घटनाप्रति दुःख व्यक्त गर्दै केन्टकीबाट आएको हृदयविदारक दृश्य भएको बताएका छन्। उनले लुईसभिल समुदाय तथा विमानका चालक दलका सदस्यहरूका लागि प्रार्थना गर्न अपील पनि गरेका छन्।
हालसम्म मानव क्षति वा दुर्घटनाको कारण सम्बन्धी कुनै जानकारी सार्वजनिक गरिएको छैन। उद्धार तथा आपतकालीन टोलीहरू घटनास्थलमा परिचालन भई छानबिन जारी रहेको अमेरिकी अधिकारीहरूले बताएका छन्।