arrow

कञ्चनपुरमा रासायनिक मलको अभाव छैन, तर सहकारीले नलग्दा किसान मर्कामा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १९ बुधबार
Kanchanpur.jpeg.jpeg

कञ्चनपुर। सरकारले सहकारीमार्फत सहुलियत दरमा उपलब्ध गराउँदै आएको रासायनिक मल समयमा नपाउँदा कञ्चनपुरका किसानहरू समस्यामा परेका छन्। अनुदानको मल वितरणको जिम्मा पाएका सहकारीहरूले कृषि सामग्री कम्पनीबाट रासायनिक मल नलग्दा किसानहरू हिउँदे बाली लगाउने समय भइसक्दा पनि मलबाट वञ्चित भएका हुन्।

कृषि सामग्री कम्पनी कञ्चनपुरका प्रमुख हेमराज जोशीले किसानहरूले हिउँदे बाली लगाउने समय भइसक्दा समेत सहकारीहरू मल लिन नआएको जानकारी दिए।

रासायनिक मल वितरणका लागि केन्द्रमा दर्ता भएका १५४ वटा सहकारीमध्ये असोज मसान्तसम्म २० वटा सहकारीले मात्रै नवीकरण गरेका छन्। रासायनिक मल वितरणका लागि दर्ता भएका सहकारीले असोज मसान्तसम्ममा नवीकरण गरेर १० दिनभित्र कोटाको रासायनिक मल लगिसक्नुपर्ने प्रावधान भए पनि हालसम्म सहकारीहरू नवीकरण गर्नसमेत नआएको उनले बताए।

प्रमुख जोशीले कञ्चनपुरमा रासायनिक मलको अभाव नरहेको बताउँदै सहकारीले समयमा मल नलग्दा किसान समस्यामा पर्ने गरेको बताए। "हामीले सिधँै किसानलाई मल बिक्री गर्न मिल्दैन, सहकारीमार्फत कोटाअनुसार मल वितरण गर्ने हो," उनले भने, "सहकारीले मल लिन नआएपछि पालिकाहरूलाई पत्राचार गरेका छौँ।"

हाल कञ्चनपुरका नौ वटा स्थानीय तहमा कोटाअनुसार सहकारीलाई मल वितरण गरिँदै आएको छ। जोशीका अनुसार, रासायनिक मल आउनेक्रम जारी छ र एक चरणको कोटाको मल वितरण गरिसकिएको छ। हालसम्म ५०० मेट्रिकटन डीएपी वितरण भइसकेको छ भने १ हजार १०० मेट्रिकटन डीएपी मौज्दात छ। त्यसैगरी, ५०० मेट्रिकटन युरिया वितरण भइसकेको छ र ३०० मेट्रिकटन गोदाममा मौज्दात रहेको छ।

यहाँका किसानहरूले भने समयमा रासायनिक मल नपाउँदा हिउँदे बाली लगाउन समस्या भएको गुनासो गरेका छन्। बेदकोट नगरपालिका–६ का कृषक सेटसिंह रानाले आफूहरूले तरकारी लगाइसक्दा पनि मल पाएका छैनन् र सहकारीमा जाँदा मल छैन भनिने गरेको बताए।

भीमदत्त नगरपालिका–८ का कृषक वीरसिंह थापाले कृषि सामग्री कम्पनीमा मल पर्याप्त छ भन्छन्, तर सहकारीले 'मल छैन' भन्दै फर्काउँछन्। किसानको बुझाइमा सहकारी नियमनको जिम्मेवारी स्थानीय तहको भए पनि प्रभावकारी नियमन नहुँदा सहकारीहरू जिम्मेवार नबनेकाले किसानहरू समस्यामा परेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ