सुदूरका किसान प्रविधिमैत्री, अधिकांशका घरमा हाते ट्याक्टर
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १८ मंगलबार
869
Shares
बाजुरा । बाजुरामा पछिल्लो समय खेत जोत्न हाते ट्याक्टरको प्रयोग गरिँदै आएको छ । यहाँका नौ वटै स्थानीय तहका अधिकांश कृषकले हाते ट्याक्टरको सहायताले खेत जोत्ने गरेका छन् ।
पहिले-पहिले गोरुको भरमा खेती गर्ने यहाँका कृषक अहिले नयाँ प्रविधिको प्रयोगबाट खेती गर्न थालेका हुन् । गोरुको सहायताले खेतबारी जोत्न बढी समयको खर्च हुने हुँदा समयको बचत र सहजताका लागि अधिकांश कृषकले हाते ट्याक्टरको प्रयोग गर्ने गरेका छन् ।
खेतवारी जोत्नका लागि गोरु र पाडाको भरपर्ने बाजुराका किसान अहिले नयाँ प्रविधिसंँग जोडिन थालेका छन् । प्रविधिको विकाससँगै छिटोछरितो खेतीका लागि जोत्ने प्रयोजनका लागि हाते ट्याक्टर निकै सुहाउँदो र भरपर्दो रहेको बडीमालिका नगरपालिका वडा नं ९ का स्थानीय शंकरबहादुर विकले बताए ।
उनका अनुसार, हाते ट्याक्टरको सहायताले खेत जोत्न निकै सहज हुने हुँदा पछिल्लो समय बाजुराका कृषक प्रविधितर्फ आकर्षित भएको बताए । केही वर्ष यता किसानले हाते ट्याक्टरको माध्यमबाट खेत जोत्न थालेका छन् । घरघरमा गोरू पाल्न छोडेपछि प्रविधितर्फ धेकेलिनु परेको विकको भनाइ छ ।
केही बर्ष अधिसम्म यहाँका किसानले खेतबारी जोत्न एक घरमा एक गोरु अनिवार्य पाल्दै आएकोमा अहिले अधिकांश कृषकले गोरु पाल्न छोडेकोले हाते ट्याक्टरको सहायता लिनु परेको अर्का स्थानीय गणेराज तिमिल्सेनाले बताए ।
प्रविधिको विकाससँगै अहिले परम्परागत रुपमा गाईगोरु पाल्ने चलन क्रमिक रुपमा लोप नै भइसकेको छ । गोरुले जोत्ने खेतबारीमा अहिले यहाँका कुना कन्दरामा हाते ट्याक्टर पुगेको तिमिल्सेनाको भनाइ छ ।
हाते ट्याक्टरले जोत्न सस्तो पर्ने भएकाले पनि पछिल्लो समय किसान हाते ट्याक्टरप्रति बढी आकर्षित हुन थालेका छन् ।
हाते ट्याक्टरको सहायताले खेत जोत्ने गरे पनि अहिले पेट्रोलियम पदार्थको मूल्य वृद्वि भएपछि आधुनिक प्रविधिको प्रयोग गर्न थालेका किसान चिन्तित बनेका छन् ।
कृषि क्षेत्रमा काम गर्ने कृषकलाई बाजुराका स्थानीय तह तथा कृषि ज्ञान केन्द्र बाजुराले अनुदानमा सामग्री उपलब्ध गराउन थालेपछि अधिकांश किसानका घरमा हाते ट्याक्टर पुगेका छन् ।
गोरु पाल्ने चलन हराउँदै गएपछि किसान नयाँ प्रविधिमा निर्भर हुनु परेको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जशीराम साहनीले बताए ।
यातायात राम्रोसँग नचल्ने ठाउँमा गाईवस्तु पाल्ने गरेको भए पनि यातायातको पहुँच पुगेका अधिकांश ठाउँमा प्रविधिको प्रयोगले खेत जोत्ने गरिएको साहनीको भनाइ छ ।