arrow

प्रधानमन्त्रीको निर्देशन

नागरिकले प्रत्यक्ष अनुभूत गर्नेगरी काम गर्न प्रधानमन्त्री कार्कीको मन्त्रालयहरूलाई निर्देशन

सबै मन्त्रालयहरूलाई ‘ब्लुप्रिन्ट’ तयार गरी तत्काल कार्यान्वयन गर्न निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १७ सोमबार
sushila-meet-s.jpg

काठमाडौँ । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले नागरिकले प्रत्यक्ष अनुभूति गर्नेगरी काम गर्न सबै मन्त्रालयहरूलाई ‘ब्लुप्रिन्ट’ तयार गरी तत्काल कार्यान्वयन गर्न निर्देशन दिएकी छिन्। सोमबार दिउँसो सिंहदरबारमा अन्तरिम सरकार गठन भएपछिको कार्य प्रगतिको समीक्षा गर्दै उनले यस्तो निर्देशन दिएकी हुन्।

प्रधानमन्त्री कार्कीले गत भदौ २३ र २४ गतेको आन्दोलनको मर्म र भावनाअनुरूप भ्रष्टाचार नियन्त्रण, सुशासन र प्रभावकारी सेवा प्रवाह आजको मुख्य आवश्यकता रहेको बताइन्। उनले सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्न र सार्वजनिक कोषको नतिजामूलक उपयोग गर्न अर्थ मन्त्रालयको परिपत्रलाई कडाइका साथ पालना गर्न निर्देशन दिइन्।

निजी क्षेत्रको मनोबल वृद्धि गरी औद्योगिक वातावरणमा सुधार ल्याउन आवश्यक संवाद, सहजीकरण र सहकार्य गर्नुपर्नेमा उनले जोड दिइन्। प्रधानमन्त्री कार्कीले आम नागरिकमा सरकारप्रतिको भरोसा वृद्धि गर्ने तथा निजामती कर्मचारी र सुरक्षाकर्मीहरूको मनोबल बढाउने उपायहरू अवलम्बन गर्न निर्देशन दिइन्।

कर्मचारीहरूको सरुवा बढुवा प्रणालीलाई व्यवस्थित, अनुमानयोग्य, पारदर्शी र न्यायोचित बनाउन आवश्यक काम गर्न पनि उनले निर्देशन दिएकी छिन्। आन्दोलनका क्रममा क्षतिग्रस्त संरचनाहरूको क्षति तथा नोक्सानीको प्रतिवेदन तत्काल तयार गरी पुनर्निर्माणको नीति र कार्ययोजना बनाउन पनि उनको निर्देशन छ। साथै, भौतिक संरचना, मेशिनरी औजार तथा उपकरणमा पुगेको क्षतिबाट सेवा प्रवाह अवरुद्ध हुन नदिन तत्काल खरिद वा वैकल्पिक सेवा प्रवाहको व्यवस्था गर्न भनिएको छ।

प्रधानमन्त्री कार्कीले अनावश्यक देखिएका संरचना खारेज गर्ने, गाभ्ने वा हस्तान्तरण गरी सार्वजनिक प्रशासनलाई चुस्त दुरुस्त र उच्च उत्पादकत्वयुक्त बनाउने कार्य तत्काल प्रारम्भ गर्नुपर्ने बताइन्। उनले निर्वाचन आयोग, सुरक्षा निकाय, राजनीतिक दल र अन्य सरोकारवालाहरूसँग निर्वाचनको वातावरण बनाउन निरन्तर संवाद गरिरहेको बताउँदै सबै मन्त्रालयहरूलाई परम्परागत शैलीबाट माथि उठेर नयाँ मानकहरू स्थापना गर्दै निर्वाचनको पूर्व तयारीका कार्यहरू चुस्त दुरुस्त रूपमा सम्पादन गर्न निर्देशन दिइन्।

कानूनको शासन प्रत्याभूत गर्न सबै खाले आपराधिक क्रियाकलापहरू नियन्त्रण गर्नु पर्ने जरुरी रहेको उनले औंल्याइन्। अन्तमा, उनले कर्मचारीहरूलाई स्थायी सरकार भन्दै नयाँ पुस्ताले सुम्पेको समृद्धि, विकास, सुशासन, समानता र भ्रष्टाचारविहीन शासकीय प्रबन्धको ग्यारेन्टी गर्ने जिम्मा उनीहरूकै रहेको बताएकी छिन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ