बेलायतका पूर्व राजकुमार एन्ड्रयुको बाँकी मानार्थ उपाधि पनि खोसियो
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १७ सोमबार
1.9k
Shares
काठमाडौँ। बेलायत सरकारले आइतबार पूर्व राजकुमार एन्ड्रयुको उप–एडमिरलको मानार्थ उपाधि खोस्ने निर्णय गरेको छ। अमेरिकी यौन अपराधी जेफरी एपस्टीनको मुख्य अभियुक्त भर्जिनिया जुफ्रेले सन् २०२२ मा मुद्दा दायर गरेपछि उनलाई उनकी आमा स्वर्गीय महारानी एलिजाबेथ द्वितीयले दिएको मानार्थ सैन्य उपाधि खोसिएको हो।
एन्ड्रयुको एपस्टीनसँगको सम्बन्धलाई लिएर बेलायतमा बढ्दो आक्रोशका बीच यो पछिल्लो कदम चालिएको हो। यसअघि, राजा चाल्र्स तृतीयले बिहीबार नै आफ्नो कान्छो भाइको बाँकी सबै शाही उपाधि र सम्मान हटाएका थिए।
रक्षामन्त्री जोन हेलीलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार, "एन्ड्रयुले सेनामा पाएको मानार्थ भाइस एडमिरल पद राजाको निर्देशनमा हामी अहिले हटाउने काम गरिरहेका छौँ।” रक्षामन्त्री हेलीले एन्ड्रयुले आफ्नो सैन्य उपाधि गुमाउनुपर्छ कि पर्दैन भन्ने विषयमा पनि राजाले नै सरकारलाई निर्देशन दिएको बताएका छन्।
सन् १९८२ को फकल्याण्ड युद्धमा रोयल नेभी हेलिकप्टर पाइलटको रूपमा एन्ड्रयुको भूमिकाको लागि उनलाई उप–एडमिरल उपाधिबाट सम्मानित गरिएको थियो। उनी २२ वर्षको सेवापछि सन् २००१ मा सेवानिवृत्त भएका थिए।
एन्ड्रयुले जुफ्रेलाई यौन दुर्व्यवहार गरेको कुरालाई सधैँ अस्वीकार गर्दै आएका छन्। तर, जुफ्रेको अक्टोबरमा मरणोपरान्त प्रकाशित संस्मरणमा जुफ्रेले तत्कालीन राजकुमार एन्ड्रयुसँग तीन पटक यौन सम्बन्ध राखेको र दुई पटकसम्म यौन सम्पर्क राख्दा उनी केबल १७ वर्षकी रहेको उल्लेख छ।
गत बिहीबार बकिङ्घम प्यालेसले एक विज्ञप्ति जारी गर्दै, "राजकुमार एन्ड्रयु अब एन्ड्रयू माउन्टबेटन विन्डसरको रूपमा मात्र चिनिनुहुनेछ" भनेको थियो। विज्ञप्तिमा भनिएको छ, "उहाँले अस्वीकार गरे पनि ‘उहाँमाथि लागेका यी निन्दाहरूविरूद्ध कारबाही आवश्यक मानिन्छ।”