arrow

क्षतिग्रस्त आणविक स्थललाई ‘पहिलेभन्दा बलियो’ बनाउने इरानको चेतावनी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १७ सोमबार
iran-map.gif

काठमाडौँ। इरानले इजरायल र अमेरिकी आक्रमणबाट क्षति पुर्‍याइएका आणविक स्थलहरूको पुनर्निर्माण गर्ने र यसलाई पहिलेभन्दा अझ बलियो बनाउने चेतावनी दिएको छ।

इरानका राष्ट्रपति मसुद पेजेस्कियानले इरानको आणविक सङ्गठनको भ्रमणका क्रममा उक्त घोषणा गरेका हुन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रमणबाट इरानको पारमाणविक कार्यक्रम नष्ट भएको बताए पनि वास्तविक क्षतिको पूर्ण विवरण भने प्रमाणित हुन सकेको छैन।

राष्ट्रपति पेजेस्कियानले आफ्नो आधिकारिक वेबसाइटमा पोस्ट गरिएको एक भिडियोमा भने, “भवनहरू ध्वस्त पार्दैमा हामी पछाडि हट्ने छैनौँ। इरानी वैज्ञानिकहरूसँग अझै पनि आवश्यक आणविक ज्ञान छ।" उनले आणविक कार्यक्रम र क्षतिबारे विस्तृत विवरण उल्लेख नगरीकन आणविक कार्यक्रमबाट पछि नहट्ने बताएका छन्। यसअघि गत फेब्रुअरीमा पनि उनले यस्तै टिप्पणी गर्दै आणविकस्थलमा आक्रमण भएमा आणविक सामग्री भण्डारण स्थलहरू पुनर्निर्माण गर्ने बताएका थिए।

इजरायलले जुन महिनामा इरानविरुद्ध अभूतपूर्व बमबारी अभियान सुरु गरेको थियो। १२ दिने युद्धको सुरुवातपछि आणविक र सैन्य सुविधामा अमेरिकी क्षेप्यास्त्रसमेत प्रहार भएका थिए। आक्रमण आवासीय क्षेत्रहरूमा समेत लक्षित गरिएको र यसका कारण धेरै शीर्ष वैज्ञानिकहरूको हत्या भएको थियो। बदलामा इरानले इजरायली शहरलाई लक्षित गरी ब्यालेस्टिक मिसाइलले आक्रमण गरेको थियो। अमेरिकाले युद्ध रोक्ने घोषणा गरेपछि इरानका विदेशमन्त्री अब्बास अराघचीले जुलाईमा इरानमा भएको क्षति ‘गम्भीर’ भएको बताएका थिए।

इरानको परम्परागत मध्यस्थकर्ता ओमानले शनिबार दुई देशलाई वार्ता पुनः सुरु गर्न आग्रह गरेपछि पेजेस्कियानको यो टिप्पणी आएको हो। ओमानका विदेश मन्त्री बद्र अल्बुसैदीले बहराइनमा आयोजित एक सम्मेलनमा “हामी इरान र संयुक्त राज्य अमेरिकाबीचको वार्तामा फर्कन चाहन्छौं” भनेका थिए। इरान सरकारका प्रवक्ता फतेमेह मोहाजेरानीले आइतबार तेहरानले कूटनीति पुनः सुरु गर्ने बारेमा ‘सन्देश प्राप्त भएको’ बताएकी छन्।

ओमानले यस वर्ष अमेरिका–इरान वार्ताको पाँच चरणको आयोजना गरेको थियो, तर छैटौँ चरणको वार्ता हुनुभन्दा तीन दिनअघि इजरायलले इरानको आणविक केन्द्रमा आक्रमण सुरु गरेको थियो। सन् २०१५ को आणविक सम्झौताको पालना नगरेको आरोपमा बेलायत, जर्मनी र फ्रान्सले ‘स्न्यापब्याक’ संयन्त्र सुरु गरेपछि इरानले संयुक्त राष्ट्रसङ्घको प्रतिबन्धको सामना गरिरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ