arrow

मेची, पुष्पलाल राजमार्ग र तमोर करिडोर सञ्चालन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १६ आइतबार
rain-mechi-rajmarga.jpg

पाँचथर। अविरल वर्षाका कारण अवरुद्ध रहेका मुख्य सडक आइतबारदेखि सञ्चालन भएका छन् । बाढी र पहिराका कारण अवरुद्ध रहेका मेची राजमार्ग, पुष्पलाल (मध्यपहाडी) राजमार्ग र तमोर करिडोर सडकमा यातायात सञ्चालनमा आएका हुन् ।

पूर्वी पहाडका ताप्लेजुङ, पाँचथर र इलामलाई तराईसँग जोड्ने मेची राजमार्गको इलामस्थित राजदुवाली खण्ड आज बिहानदेखि सञ्चालनमा आएको छ । सडकमा आइतबार बिहान सामान्य मर्मतपछि साना सवारीसाधनका लागि सञ्चालन गरिएको सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईले जानकारी दिए । जोखिमलाई ध्यानमा राखेर उक्त सडक गएराति भने बन्द गरिएको थियो ।

पूर्वी पहाडबाट सुनसरीको धरान हुँदै तराईलाई जोड्ने तमोर करिडोर सडकको पाँचथर-धनकुटा सीमावर्ती नावा खोला खण्डसमेत आइतबारदेखि सञ्चालनमा आएको छ ।

नावा खोलामा पानीको बहावका कारण सवारी पार गर्न सकेका थिएनन् । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायब उपरीक्षक अनिषकुमार कर्णले यहाँ सडक मर्मत गरी आज बिहानदेखि सञ्चालन गरिएको जानकारी दिए ।

यस्तै, पुष्पलाल (मध्यपहाडी) राजमार्गको पाँचथरको याङवरक गाउँपालिका खण्डसमेत सञ्चालन भएको छ ।

याङ्वरक गाउँपालिका-३ स्थित रिजालभिरमा झरेको पहिरो पन्छाइनुका साथै याङ्वरक-२ स्थित दोभानेमा बाढीले बगाएको डाइभर्सन पुनर्निमाण गरी सडक सञ्चालन गरिएको पाँचथर प्रहरीले जनाएको छ ।

बाढीले बगाएको डाइभर्सन बगाएपछि अवरुद्ध फिदिम-फालोट सडक भने सञ्चालनमा आउन सकेको छैन । बाढीले उक्त सडकअन्तर्गत फिदिम नगरपालिका वडा नं १ र ११ को सीमास्थित फेमे खोलामा रहेको डाइभर्सन बगाएपछि सडक अवरुद्ध भएको थियो ।

गत वर्षको असोज १२ गते आएको बाढीले यहाँ रहेको सडक पुल बगाएपछि अस्थायी डाइभर्सनबाट सवारीसाधन आवतजावत गर्दै आएका छन् ।

तर बाढी आउनासाथ डाइभर्सनमा क्षति हुनाले यस सडकले जोड्ने फिदिम नगरपालिका र फालेलुङ गाउँपालिकाका १० वटा वडाका बासिन्दाले सास्ती भोग्दै आएका छन् ।

यस्तै, राँके-रवि-भेडेटार सडकको पाँचथर खण्ड सञ्चालन रहेको पाँचथर प्रहरीले जनाएको छ । उक्त सडकको धनकुटाको चौबिसे गाउँपालिकास्थित भेडेटार नजिकै पहिरो जाँदा धनकुटा खण्ड भने प्रभावित भएको थियो । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ