बाजुरा । बाजुरामा बस दुर्घटनामा घाइते भएका बस सहचालक बैतडी दशरथचन्द्र नगरपालिका वडा नं ९ बस्ने २४ वर्षीय गणेश जोशीको उपचारका क्रममा मृत्यु भएको छ ।
घाइते जोशीको अवस्था गम्भीर भएपछि थप उपचारका लागि धनगढी रिफर गरिएको भए पनि अस्पतालमा उपचारका क्रममा शनिबार राति १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुरा निमित्त प्रहरी नायव उपरिक्षक गगनसिंह भाटले जानकारी दिएका छन् ।
मार्तडी कोल्टी सडकमा पर्ने बुढीनन्दा नगरपालिका वडा नं ७ सेरकाटियाका बस दुर्घटनामा परेको थियो।
बस दुर्घटनामा परी घाइते भएका आठ जनालाई भने थप उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी रिफर गरिएको जिल्ला अस्पताल बाजुराले जनाएको छ ।
घाइते भएर अवस्था गम्भीर भएका आठ जनाको उपचारका लागि शनिबार राति नै एम्बुलेन्स र जीपमार्फत धनगढी पठाइएको छ ।
उनीहरूको शरीरका विभिन्न भागमा गम्भीर चोट लागेकाले जिल्लामा सम्भव नभएपछि रिफर गरिएको जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीले बताएका छन् ।
उनका अनुसार स्वामीकार्तिक खापर गाउँपालिका-३ जुकोटका २३ वर्षीय विशाल शाही,बुढीनन्दा नगरपालिका-६ छातीकोटका १९ वर्षीय उमेश भाट, सोही नगरपालिका-५ बस्ने २४ वर्षीया जमुना मल्ल, सोही नगरपालिका-५ छातीकोट बस्ने७ वर्षीया लक्ष्मी मल्ललाई रिफर गरिएको अस्पतालका सूचना अधिकारी गिरीले बताए ।
यस्तै बुढीगंगा नगरपालिका-९ जुवापानी बस्ने २२ वर्षीया पवित्रा सिंह,उनकी छोरी २ वर्षीया छोरी जेनिशा सिंह,५ वर्षीया पल्ले सिंह, जेसिका सिंह र बुढीनन्दा नगरपालिका-७ सास्ता बस्ने ४५ वर्षीया इसरा देवी सुनारलाई थप उपचारका लागि धनगढी पठाइएको अस्पतालका सूचना अधिकारी गिरीको भनाइ छ ।
कोल्टीबाट धनगढीका लागि शनिबार छुटेको सुपप्र ०१-००१ ख ३१८१ नम्बरको बस सडकमा रोकेर सामान छतमा राख्ने क्रममा एकाएक पछाडि गएर दुर्घटना भएको बताइएको छ ।
बस दुर्घटनापछि चालक फरार छन् । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।