संविधान जेन-जी विरोधी, बीपीले राजा नभए देश हुँदैन भन्नुहुन्थ्यो - स्वागत नेपाल [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १४ शुक्रबार
1.3k
Shares
काठमाडौँ । स्वतन्त्र राजावादी अधिवक्ता स्वागत नेपालले अहिलेको संविधान जेन-जी विरोधी रहेको बताएका छन् । शुक्रबार पत्रकार सम्मेलन गर्दै उनले यो संविधानमा रहेर जेन-जीलाई चुनावमा उठ्न रोकेको र राष्ट्रिय सभा, संवैधानिक आयोगलगायतमा जेन-जीको प्रतिनिधित्व अस्वीकार गरिएको भन्दै अहिलेको संविधान जेन-जी विरोधी रहेको बताए ।
वर्तमान संविधानले नेपाली नागरिकहरूलाई मिलिजुली शोषण गर्ने काम गरेको उनको दाबी छ । उनले भने, ‘अहिलेको संविधान जेन-जी विरोधी संविधान हो । अहिलेको संविधान जेन-जीलाई सांसद हुनै दिन हुँदैन भनेर लेखिएको संविधान हो । अब राष्ट्रिय सभाको चुनाव हुँदैछ । त्यो राष्ट्रिय सभाको चुनावमा एउटा पनि जेन-जी उठ्न पाउँदैन भनेर लेखिएको छ । यस्तो संविधान जलाउने कि नजलाउने ? यस्तो संविधानलाई च्यात्ने कि नच्यात्ने ?’
उनले २०६३ मा ८३ जना माओवादीलाई संसदमा चुनाव नगराई ल्याएको बताउँदै उनले अब ८० प्रतिशत जेन-जी युवाले स्वामित्व पाउनुपर्ने बताए ।
उनले भने, ‘हामी २०६३ मा माओवादीलाई सिधै जंगलबाट सांसद बनाएर ल्याएजस्तो ८० प्रतिशत जेन-जी सांसद बनाउन चाहन्छौं । कुनै चुनाव हुनेवाला छैन । चुनावबाट ८३ जना माओवादी सांसद बनेर आएका थिएनन् । त्यही मौकामा कांग्रेस र एमालेले पनि सांसदहरू थपेका थिए । सिकाउँछौ जेन-जीलाई ? कसरी स्थापित गर्नुपर्छ, चुनावबाट कि आन्दोलनबाट ? आन्दोलनबाट, कुनै चुनावबाट होइन ।’
उनले राजसंस्था पुनःस्थापना गर्न चाहने पनि एकतावद्ध हुनुपर्ने आवश्यकता औँल्याए । साथै, अहिले कांग्रेस, एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका कतिपय नेताहरूले राजसंस्था चाहिनेरहेछ भनिरहेको पनि उनले बताए ।
उनले भने, ‘अहिले कांग्रेसका माननीयज्यूहरू, एमालेका माननीयज्यूहरु, रास्वपाका माननीयज्यूहरू अब राजसंस्था चाहिने रहेछ भनेर एकतावद्ध हुन थाल्नुभएको छ । मैले अघिल्लो हप्ता पनि धेरै माननीयज्यूहरूलाई भेटिसकेको छु । एकै ठाउँमा आउने प्रयास भइरहेको छ । उहाँहरू एकतावद्ध हुँदै हुनुहुन्छ । साँच्चैको नेपाली कांग्रेस सधैं राजसंस्थावादी छ । किनकि बीपीले राजा भएन भने देश हुँदैन भन्नुहुन्थ्यो । त्यो साँच्चैको नेपाली कांग्रेस भनेको डा.सुनिल शर्मा, शंकर भण्डारी हो ।’