काठमाडौँ। सिन्धुली जिल्ला प्रशासन कार्यालयले भारी वर्षाको सम्भावना र त्यसले निम्त्याउन सक्ने जोखिमलाई ध्यानमा राख्दै आज साँझदेखि कात्तिक १५ गतेसम्म रातको समयमा बीपी राजमार्गमा सवारी साधन सञ्चालनमा रोक लगाएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचनालाई आधार मान्दै प्रशासनले यो निर्णय गरेको हो। सवारी साधन र यात्रुहरूमा हुन सक्ने सम्भावित मानवीय तथा भौतिक क्षतिबाट बच्नका लागि कात्तिक १३ र १४ गते साँझ ५:०० बजेदेखि बिहान ५:०० बजेसम्म बीपी राजमार्गको खुर्कोटबजार (सिन्धुली जिल्ला) बाट काठमाडौंतर्फ जाने सवारी साधनको आवागमनमा रोक लगाइएको प्रशासनले जनाएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जारी गरेको सूचनामा उल्लेख छ कि दिउँसोको समयमा पनि भारी वर्षा भएमा सुरक्षा निकायले आवश्यकअनुसार जुनसुकै स्थानमा (सुरक्षित रहने गरी) सवारी साधन रोक्न सक्नेछ। प्रशासनले विशेष गरी बीपी राजमार्ग र मध्यपहाडी राजमार्गमा वर्षा भइरहेको अवस्थामा सवारी साधन नचलाउन अनुरोध गरेको छ।