सरकार जनताको आवाज सुन्ने, देखिने र महसुस गर्ने हुनुपर्छ [भिडियाे]
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १२ बुधबार
929
Shares
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकार जनताको आवाज सुन्ने, देखिने र महसुस गर्ने हुनुपर्ने बताएका छन् ।
बुधबार सिंहदरबारस्थित मन्त्रालयमा अनलाइन टिभीकर्मीसँगको छलफलमा उनले सञ्चार मन्त्रालय त्यस दिशामा क्रियाशील रहेको बताए ।
सामाजिक सञ्जाललाई व्यवस्थित र जिम्मेवार बनाउन आवश्यक रहेको उनले स्पष्ट पारे । सामाजिक सञ्जाललाई नयाँ मूलधारको मिडियाको रूपमा स्वीकार गर्दै उनले त्यसलाई सामाजिक सञ्जाललाई नियमन गर्दै जिम्मेवार बनाउनुपर्नेमा जोड दिए ।
मन्त्री खरेलले अनलाइन पत्रकारहरूको तालिमका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
उनले भने, ‘सामाजिक सञ्जाल कहिल्यै पनि बन्द हुनुहुदैन र बन्द गरिँदैन भन्नेकुरा स्पष्ट पार्न चाहन्छु । नयाँ मूलधारको मिडियाको रुपमा रहेका सामाजिक सञ्जाल कहिले पनि बन्द हुनुहुँदैन । बन्द गरिने छैन । कुनै पनि सञ्चार माध्यमसमेत बन्द नगरिने व्यहोरा स्पष्ट पार्न चाहन्छु । दोस्रो कुरा के हो भने सामाजिक सञ्जाललाई व्यवस्थित गर्नुपर्छ । जिम्मेवार बनाउनुपर्छ । सञ्चारमन्त्रीको रुपमा मेरो प्राथमिकता पनि यही नै हो । तर बन्द गर्ने कुरा कसैलाई पनि स्वीकार्य हुँदैन । सरकार सुनिनुपर्छ, सरकार देखिनुपर्छ र महसुस पनि हुनुपर्छ । त्यसकारण सञ्चार मन्त्रालय सुनिन्छ पनि देखिन्छ पनि र महसुस हुन्छ पनि । अनलाइन पत्रकारको तालिमका लागि पनि आवश्यक पहल गर्छु । डिजिटल मिडियासँग सम्बन्धित संस्थाले संस्थागत रुपमा आउनुभयो भने मन्त्रालय त्यसका लागि पनि तयार छ । अनलाइन तथा पत्रपत्रिकाको दर्ता प्रक्रियाको विषयले मलाई पनि पीडा महसुस भइरहेको छ । त्यसकारण मैले पहिलो क्याबिनेटबाटै दर्ता प्रक्रिया सूचना विभागबाट हुने निर्णय गराएँ ।’
उनले अनलाइनलगायतका सञ्चारमाध्यमको दर्ता प्रक्रिया सूचना विभागबाटै हुने निर्णय गरिसकेको स्पष्ट पारे ।