दल र जेन–जीसँगको संयुक्त बैठकअघि मन्त्रिपरिषद् बैठक
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १२ बुधबार
971
Shares
काठमाडौँ । निर्वाचनको वातावरणका लागि सम्बद्ध पक्षहरूसँग सघन वार्ता र छलफल गरिरहेको सरकारले पहिलोपटक राजनीतिक दल र ‘जेन–जी’ प्रतिनिधिबीच अपरान्ह छलफल गर्दैछ ।
प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ बजे सरकारले त्रिपक्षीय बैठक बोलाएको छ । बैठकमा सरकार, राजनीतिक दल र जेन–जी समूहबीच छलफल हुनेछ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्वाचनको माहोल बनाउन संयुक्त बैठक आयोजना गरिएको बताए । उनले निर्वाचन सफल बनाउन राजनीतिक दल र सम्बद्ध पक्षसँग चरणबद्ध वार्ता र छलफल भइरहेको जानकारी दिए ।
सरकारले दलहरु र जेन–जी समूहसँग वार्ता गर्नुअघि सरकारको स्पष्ट योजना सुनाउन मन्त्रिपरिषद्को बैठक बसेको छ । बैठकले वार्ताका लागि एजेन्डा तय गरेको बुझिएको छ ।
बैठकमा सरकारका तर्फबाट प्रधानमन्त्री कार्की र मन्त्रीहरू, राजनीतिक दलका प्रतिनिधिहरू र जेन-जीका तर्फबाट ८ देखि ९ वटा समूहका अगुवाहरू सहभागी हुनेछन्।
यसअघि गत कात्तिक ४ गते सरकार र राजनीतिक दलबीच छलफल भएको थियो । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा भएको सर्वदलीय बैठकमा आवश्यक वातावरण बनाएर निर्धारित समयभित्रै निर्वाचन सम्पन्न गर्नेगरी सबैपक्ष सकारात्मक भएका थिए ।
यसबीचमा विभिन्न औपचारिक छलफल र संवाद पनि भएका थिए । लामो समयपछि भएको औपचारिक राजनीतिक संवादले निर्वाचनको माहोल बनाएको सम्बद्ध पक्षको भनाइ छ ।
निर्वाचनको तयारी स्वरुप सरकारले सबैखाले काम अगाडि बढाएको मन्त्री खरेलले बताए । सरकारले निर्वाचन आयोगसँग पनि विभिन्न चरणमा छलफल गरी निर्वाचनको वातावरणका निम्ति ताकेता गरिरहेको छ । सोहीअनुसार आयोग निर्वाचनको आवश्यक तयारीमा जुटिसकेको छ ।
सरकारले आगामी फागुन २१ गतेका लागि प्रतिनिधि सभाको निर्वाचन घोषणा गरेको छ ।