व्यापार वार्ताका लागि तयार रहेको क्यानाडाका प्रधानमन्त्रीको भनाइ, ट्रम्पले मानेनन् भेट्न
ट्रम्पले क्यानडाका सामानमा थप १० प्रतिशत करवृद्धि गर्ने घोषणा गरेका छन् र पूर्व राष्ट्रपति रोनाल्ड रेगनको करवृद्धि विरोधी 'भ्रामक विज्ञापन' अभियानपछि सबै व्यापार वार्ता रद्द गरेको घोषणा गरे
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ११ मंगलबार
2.4k
Shares
तस्बिर फाइल
काठमाडौँ । क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ताका लागि आफू तयार रहेको बताएका छन्। राष्ट्रपति ट्रम्पले क्यानडासँगको व्यापार वार्ता 'भ्रामक विज्ञापन अभियान' बनेको भन्दै सबै वार्ता रद्द गरेको बताएपछि कार्नीको यस्तो प्रतिक्रिया आएको हो।
मलेसियामा आयोजित क्षेत्रीय शिखर सम्मेलनका क्रममा कार्नीले पत्रकारहरूसँग भने, "जब अमेरिका वार्तामा बस्न तयार हुन्छ, हामी अमेरिकासँग बस्न तयार छौं, हामी राष्ट्रपति ट्रम्प र अमेरिकी प्रतिनिधिसँग वार्तामा बस्न तयार छौं।" उनले क्वालालम्पुरमा अमेरिकी राष्ट्रपतिसँग आफ्नो कुनै सम्पर्क नभएको पनि बताए।
यसैबीच, अमेरिकी राष्ट्रपति ट्रम्पले कार्नीसँग भेट्ने आफ्नो कुनै योजना नभएको बताएका छन्। एशिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनमा कार्नीसँग भेट्ने सन्दर्भमा सोधिएको प्रश्नमा उनले एयर फोर्स वानमा पत्रकारहरूसँग भने, "म उहाँसँग भेट्न चाहन्नँ, होइन।" ट्रम्पले अगाडि भने, "म उहाँसँग केही समयको लागि भेट्ने छैन। व्यवहार गर्न सबैभन्दा कठिन देशहरू मध्ये एक क्यानाडा हो। म क्यानाडा र क्यानाडाका मानिसहरूलाई माया गर्छु।"
राष्ट्रपति ट्रम्पको विश्वव्यापी क्षेत्रगत करवृद्धिले विशेष गरी स्टिल, एल्युमिनियम र अटोमोबाइलहरूमा क्यानाडालाई नराम्ररी असर गरेको छ, जसका कारण रोजगारी गुम्ने र व्यवसायहरू धराशायी बन्ने अवस्था सिर्जना भएको छ। प्रधानमन्त्री कार्नीले स्टिल, आल्मुनियम र ऊर्जासँग सम्बन्धित क्षेत्रमा उल्लेखनीय प्रगति भएको सङ्केत गर्दै भने, "हामीले व्यापार सम्बन्धमा उल्लेखनीय प्रगति गरेका छौँ।"
राष्ट्रपति ट्रम्पले क्यानडाका सामानमा थप १० प्रतिशत करवृद्धि गर्ने घोषणा गरेका छन् र पूर्व राष्ट्रपति रोनाल्ड रेगनको करवृद्धि विरोधी 'भ्रामक विज्ञापन' अभियानपछि सबै व्यापार वार्ता रद्द गरेको घोषणा गरेका छन्। यो विज्ञापनमा रोनाल्ड रेगनले सन् १९८७ को व्यापारसम्बन्धी रेडियो सम्बोधनमा भनेको, "उच्च करले अनिवार्य रूपमा विदेशी देशहरूको प्रतिशोध निम्त्याउँछ र भयङ्कर व्यापार युद्धहरू निम्त्याउँछ" भन्ने उद्धरणहरू प्रयोग गरिएको थियो।
रोनाल्ड रेगन फाउन्डेसनले ओन्टारियो सरकारले 'चयनात्मक अडियो र भिडियो' प्रयोग गरेको भन्दै कानुनी विकल्पहरूको समीक्षा गरिरहेको बताएको छ। ओन्टारियोले भनेको छ कि उसले सोमबार अपमानजनक करविरोधी विज्ञापन हटाउनेछ ताकि वार्ता पुनः सुरु गर्न सकियोस्। ट्रम्पले करवृद्धि कहिले सुरु हुन्छ भन्ने पुष्टि भने गरेका छैनन्।
यसैबीच, प्रधानमन्त्री कार्नीले बुधबार दक्षिण कोरियामा हुने एसिया प्यासिफिक इकोनोमिक कोअपरेसन (एपेक) शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट्ने तयारी भएको बताएका छन्। कार्नीले सीसँगको वार्तामा 'व्यापारिक सम्बन्धका साथै विश्व प्रणालीको विकास' का बिषयमा छलफल गरिने बताए।