arrow

समाजसेवी मास्के सम्मानित 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १० सोमबार
anjali-maskey-sushila-karki.jpg

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले समाजसेवी अञ्जली मास्केलाई सम्मान गरेकी छिन् । प्रधानमन्त्री कार्कीले मास्केलाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै आमन्त्रण गरी पछ्यौरा पहिराएर सम्मान गरेकी हुन् । उनीहरूबीच केहीबेर भलाकुसारी पनि भएको थियो ।

“तपाईँले निःस्वार्थ रूपमा लामो समयदेखि सामाजिक काम गर्दै आउनुभएको भन्ने थाहा पाएको थिएँ । एकपटक भेट्ने इच्छा थियो, आज पूरा भयो । सरकारका तर्फबाट धेरै केही गर्न नसके पनि भेटेर सम्मान प्रकट गरौँ भनेर यो कार्यक्रम गरिएको हो”, प्रधानमन्त्री कार्कीले भनिन्, “यहाँलाई सम्मान गर्न पाउँदा हामी आफू पनि सम्मानित भएको महसुस भएको छ । यहाँको निःस्वार्थ भावनाबाट समाजमा सत्कार्यका लागि अरूलाई पनि प्रेरणा मिलिरहेको हामीले ठानेका छौँ ।”

काठमाडौँको ताहाचल निवासी मास्के विगत २७ वर्षदेखि दिदीबहिनी नभएका र भएर पनि भाइटीकाका दिन भेट्न नभएका दाजुभाइहरूको निधार खाली नहोस् भनेर टीका लगाइदिएका कारण परिचित छिन् । 

उनले वीर अस्पतालमा बेवारिसे तथा विपन्न बिरामी र तिनका कुरुवाका लागि निःशुल्क खानपिनको व्यवस्था गरिदिएर पनि समाजमा योगदान गरेकी थिइन् । त्यस्तै काष्ठमण्डपमा सामूहिक व्रतबन्धको व्यवस्थापन पनि उनले गर्दै आएकी छिन् । 

यी सबै काम उनले आफ्नै निजी खर्चमा गर्दै आएको पनि प्रधानमन्त्रीसमक्ष जानकारी गराएको प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलले जानकारी दिए ।

“मैले कसैसँग केही अपेक्षा राखेर यी काम गर्दिनँ”, ८२ वर्षीया मास्केले भनिन्, “जे सक्छु, आफ्नै खर्चमा गर्छु, अहिले छोरा कमाउने भएपछि सोचेको काम गर्न थप सजिलो भएको छ ।” मास्केले सरकारबाट पनि कुनै अपेक्षा नराखेको प्रतिक्रिया दिइन् । 

उनले भनिन्, “मलाई केही चाहिएको छैन । हामीले आ–आफ्नो ठाउँबाट सकारात्मक काम गर्दै जानुपर्छ । एकले अर्कालाई सघाउनुपर्छ । सबैले अरूको सेवा गरून् । सेवाको भावना राखेर काम गरून् । सरकारसँग हामीले अपेक्षा राख्ने होइन, सरकारलाई हामीले सघाउनुपर्छ । अनि सरकारबाट देशको कल्याण हुन सक्छ ।”

प्रधानमन्त्री कार्की देशकै पहिलो महिला प्रधानमन्त्री बनेको सुनेकै दिनदेखि निकै खुसी र भरोसा जागेको पनि मास्केले बताइन् । 

“सर्वोच्च अदालतको प्रधानन्यायाधीश बन्नुभयो, त्यहाँ साहसिक काम गर्नुभयो”, मास्केले भनिन्, “यस्तो मान्छे देशको प्रधानमन्त्री हुँदा राम्रो हुन्थ्यो भन्ने लागेको थियो । आज त्यो दिन देख्न पाइयो । एकदम खुसी र भरोसा लागेको छ । पहिलाजस्तै नडराइकन काम गर्नुहोला ।”

अफ्ठ्यारो परिस्थितिमा देश सम्हाल्न आएको भन्दै प्रधानमन्त्री कार्कीप्रति मास्केले कृतज्ञता पनि व्यक्त गरिन् । 

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री सुधा गौतम, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठको पनि उपस्थिति थियो । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ