arrow

जर्नलिङः नेपालीलाई चान्स

logo
बद्रीप्रकाश ओझा, 
प्रकाशित २०८२ कार्तिक ९ आइतबार
badri-ojha-82-7-9.jpg

म जुन विषयमा जसरी कुरा गर्छु ध्यानको भाषामा यसलाई जर्नलिङ भनिन्छ । अर्को भाषामा भन्दा अन्टसन्ट लेख । 

यस्तै अन्टसन्ट कुरा लेखेर मानिसहरु चिन्तामुक्त होउन् भन्ने मेरो आशय हो । यस्तो आशयलाई स्थान दिने यो अनलाइन सदैव धन्यवादको पात्र छ । 

जर्नलिङ मात्र होइन । मिलेसम्म अन्टसन्ट बोल्नुपर्छ । दिनमा आधाघन्टा कुनै एकान्तमा गएर वा घरैमा भए पनि ठूलो संगीत बजाएर अन्टसन्ट चिच्याए मानिस चिन्तामुक्त हुन्छ भन्ने विषयमा ओशोले धेरै कुरा गरेका छन् । 

ओशोको यस दाबीलाई अमेरिकास्थित मासाचुसेट्स विश्व विद्यालयका चिकित्सक प्राडा जोन कबाट—जिनले वैज्ञानिक तथ्यसहित प्रमाणित गरिदिएका छन् । 

डा कबाट—जिनले जर्नलिङ लगायतका विषयले मानिसको दिमागमा कस्तो प्रभाव पार्दछ भन्नेबारे लामो अनुसन्धान गरेका छन् । उनले जर्नलिङ लगायतका यावत विषयले मानव मष्तिष्कमा पर्ने प्रभावबारे तस्बिर खिचेर ध्यानले विज्ञानमा आधारित रहेर काम गर्दछ भन्ने प्रमाणित गरिदिए । 

उनको यो प्रमाणपछि म अझ जोशिएँ । 

लेख यस्तो हुनुपर्छ, उस्तो हुनुपर्छ भनेर एउटा अनलाइन पोर्टलका सम्पादकले एक पटक मलाई भने । मैले सोधेँ कति वर्ष भयो पत्रकारिता गरेको ? उनी रिसाए तर पछि खोई के भो लेख पठाउनुहोस्, ब्लगमा हालिदिन्छु भने । पैसा पनि दिउँला भने । 

अर्को एउटा अनलाइनले भने एआईको प्रयोग गर्नुहुँदोरहेछ दाइ भन्यो । मैले भने— हातैले लेखेर पठाइदिउँ त  । हैट टाइप त गर्नुपर्छ नि दाइ भन्यो । अनि प्रवधिको प्रयोग गर्दा किन विरोध नि भनेँ । एआई गरोस् कि गुगल गरोस् नि तिमीलाई चाहिएको लेख हैन भनेँ । त्यसपछि म अंग्रेजीमा जर्नलिङ गर्दा एआई प्रयोग भएको छ है भनेर शुरूमै स्वघोषणा गर्छु । 

पत्रकारितामा यो एउटा निको नहुने रोग छ — पत्रकारलाई साह्रो जान्ने पल्टिनुपर्छ । यस्तै निहुँ खोजेर एउटा सरकारी पत्रिकाले मेरो आर्टिकल छापेन । कारण थियो— एआईको प्रयोग । भाषा राम्रो होस् भनेर एआईलाई सम्पादन गर्न लगाएँ । 

 डेस्क सम्पादकले भने – एआई प्रयोग गरेर लेखेको रहेछ । हाम्रो सम्पादकीय नीतिले अस्वीकार गर्‍यो । अझ हामी पनि राम्रै सम्पादन गर्न सक्छौँ भन्ने सन्देश पो दिए । 

 ठीकै छ भनेर चित्त बुझाएँ । 

दुई दिनको मेहनत सम्झेर त्यो लेखलाई फेरि टाइप गरेर अर्को अनलाइनमा पठाएँ । उसले एआईको छनक पाएन र छापियो । 

एआई प्रयोग गर्नुहुन्न भन्ने रोग लागेको छ नेपाली पत्रकारितालाई । अलि अघिसम्म गुगलको रोग थियो । 

पत्रकारले आफूलाई परिस्कृत गर्न नसकेकै कारणले सन् १९६०–७० तिर अनुसन्धानकर्ताहरुले यसमाथि विश्वास गर्दैनथे तर पछि अनुसन्धानको पनि बजार आवश्यक महसुस गरी यस क्षेत्रले पनि पत्रकारितालाई अंगालेको पाइन्छ । 

लेखको कुरा गर्दा मलाई अर्का प्राध्यापक डा. योगेन्द्र यादवको कुरो याद आउँछ । भाषा विज्ञानका निकै गहकिला विद्धान डा. यादवलाई एउटा पत्रिकाले फोन गरेरै लेख मागेछ । 

उनले पठाए । यो लामो भयो भनेछ । फेरि छोटो बनाएर पठाएछन् । पछि खै के भयो, लेख पुच्छर तिरबाट काटिदिएछन् र लिँँडे लेख छापिएछ । त्यसपछि लेख्न नै बन्द गरेको डा. यादव सुनाउँछन् । 

फेदतिरबाट काट्ने पनि रोगै छ नेपाली पत्रकारितामा । समाचारलाई फेदबाट च्याट् पार्ने बानी लेखमा झल्किन्छ । 

यति गाली गरेपछि शुरू गरौं, जर्नलिङ । 

पश्चिम अस्ट्रेलियाका एक किसानले नातिका लागि नेपाली बधु खोजेका छन् । उनी कुनै बेला स्थानीय नगरको मेयर पनि थिए । अस्ट्रेलियामा किसान भन्नासाथ करोडपति मानिन्छ । यताको करोडपति भनेको हाम्रोतिरको अर्बपति । 

कुन नेपाली युवती यिनकी नातिनी बुहारी बन्लिन्, त्यो चाहिँ हेर्न बाँकी नै छ । 

ती किसान वर्षमा ६ हजार टन गहुँ बेच्छन् रे । सुन्दा पनि अचम्म लाग्छ, ६ हजार टन अर्थात् ६० लाख केजी । भाउ भन्नु न कति सस्तो । केजीको ४० सेन्ट अर्थात् आजकै भाउमा नेपाली पैसा त्यस्तै ३५–३६ रुपैयाँ जति पर्छ । 

कृषि आफ्नो पनि चासोको विषय भएकाले कान ठाडो हुनु स्वभाविकै भो । कुनै व्यापारीले यो गहुँ नेपालसम्म पुर्याइदिए हामी पनि सस्तोमा रोटी खान पाउँथ्यौं भन्ने लाग्यो । यति नै सस्तो नेपालमा उत्पादन गर्नेतिर खासै सोच आएन । 

म सन् २००९ देखि नियमित रुपमा कृषिमा कलम चलाउँछु । 

यस क्रममा मैले कृषिका १२३० वृत्तचित्र बनाएँ । कृषक तथा कृषि उद्यमी गरी एक लाख ५१ हजारसँग अन्तर्वार्ता गरेँ । यस कर्मले मलाई रुठोसुठो खान मात्र दिएन विद्यावारिधी गर्ने बाटो पनि खोलिदियो । 

मेरो काम नै कृषि अनुदानबारे सर्वसाधारणलाई जानकारी दिने तथा अनुदान पाएकाहरुको आर्थिक अवस्थामा आएको परिवर्तनबारे समाचार लेख्ने थियो ।

मैले काम गर्ने कार्यालयबाट अनुदान प्राप्त गर्नेहरुले निर्माण गर्ने हरेक गोठ, खलो, भण्डार, पानी पँधेरो, कुलो नहर, इनार, कल, बोरिङ, टनेल घर आदिका तस्बिर तथा भिडियो क्लिप गरी दुई हजार जीबी जम्मा गरेर सरकारलाई बुझाएको थिएँ ।

परियोजनाको समाप्तीपछि त्यसलाई नेपाल सरकारको आधिकारिक पोर्टलमा राख्ने भनेर कृषि मन्त्रालयलाई जिम्मा लगाएको थियो । त्यसको अवस्था के छ भन्ने चाहिँ थाहा छैन । 

यस क्रममा मैले भेटेका डेढ सय हजार कृषिकर्मीमध्ये अनगिन्ती नेता थिए । त्यतिबेलाका ठूला भनिने पार्टीका ८–१० बाहेक सबै नेता कुनै न कुनै बहानामा हाम्रो अफिस धाउँथे । सबैले अनुदानका लागि याचना गर्थे । 

एक दिन झापाका एक माननीयले मेरो हाकिम साहेबसँग भेट गराउन अनुरोध गरे । आफ्नै पूर्वजिल्लाको, त्यसमा पनि आफ्नै क्षेत्रको माननीयले अनुरोध गरेपछि मैले भेटको चाँजो मिलाइ दिएँ तर म भने बैठकमा बसिँन । पछि पो हाकिमले यस्तो अनुदान पारिदेउ भनेर याचना गर्ने मान्छे किन ल्याएको भनेर गुनासो गरे । 

यस्तै नेताहरु धाउँथे । 

मेरो हाकिम त्यति बेलाका हिरो थिए । हुन त अझै पनि उनी हिरो नै छन् । त्यतिबेला विश्व बैंकको परियोजनाको हाकिम ।  त्यसमा पनि नेपालबाट विश्व बैंकको बोर्ड बैठकमा सम्बोधन गर्न छानिएर जाने दुईमध्येमा परेका । 

उनको कुरै छोडौं । 

बीस मिलियन अमेरिकी डलरको प्रोजेक्टलाई तीन सय मिलियन थप गराउन सफल भए । पछि अर्थ मन्त्रालयले कृषिमा यति ठूलो रकम दिनुहुँदैन भनेर मात्र ४० मिलियन थप गर्ने सहमति भयो ।

हुन त त्यही रकम पनि सबै खर्च भएन । 

अर्थले कृषिलाई कसरी दबाबमा राख्छ भन्ने यो एउटा उदाहरण हो । 

विश्व बैंकले प्रदान गर्ने तीन सय मिलियनमध्ये ४६ प्रतिशत अनुदान थियो,अथवा एक सय ३८ मिलियन अनुदान । त्यतिबेला एक अमेरिकी डलर बराबर ८० रुपैयाँ थियो । 

सोही अनुसार हिसाब गर्न हो भने ११ अर्बभन्दा अलि बढी हुन्छ । अहिले त १९ अर्बभन्दा बढी हुन्छ । 

नेपाली किसानका लागि विश्व बैंकले अनुदानस्वरुप ११ अर्ब दिन्छु भन्दा लिन अस्वीकार गरियो । 

त्यतिबेला देशका ठूला वामपन्थी नेता अर्थमन्त्री थिए । अहिले सरकारमा रहेका लोकप्रिय नेता हाकिम थिए । मन्त्री र कर्मचारी दुवै जनताको दैनिकी कसरी माथि उठाउन सकिन्छ भन्ने चिन्ता लिन्छौं भन्थे तर व्यवहारमा उल्टो । 

किसानका लागि निशुल्क, साउँब्याज केही पनि तिर्नै नपर्ने पैसा दिन्छु भन्दा लिन अस्वीकार गरियो । 

मेरो मुड दिमागमा एउटै कुरो खेलिरह्यो । यो रकम यसै बाँडिदिएको भए पनि त कमसेकम गाउँमा पैसा पुग्थ्यो । जाँड नै खाएर सके पनि भट्टिबाट गाउँमा पैसा फैलिन्थ्यो ।

अथवा कुनै ठूलै व्यापारीलाई दिएको भए अलिकति नै भए पनि  रोजगारी सिर्जना हुन्थ्यो । (लेखक ओझा किसानहरूको सिक्ने क्षमता विषयका पोष्ट डक्टरल अनुसन्धानकर्ता हुन्)

क्रमशः 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ