बाजुरा । बाजुरामा ड्रयागन खेती सिँचाइको अभावमा परेका छन्। पछिल्लो समय बाजुरामा ड्रयागन खेती राम्रो हुँदै गए पनि सिँचाइ अभावले बोटहरू सुक्ने समस्या परेका छन् ।
एकपटक बिरूवा लगाएपछि समय-समयमा सामान्य गोडमेल र सिँचाइबाहेक अन्य गोडमेल गर्नु नपर्ने र रोपेको दुई बर्षदेखि लगातार लामो समयसम्म फल दिने ड्रयागन खेतीका लागी उपयुक्त सिँचाई सुविधा नहुँदा बाजुराका ड्रयागन कृषक समस्या परेका छन् ।
ड्रयागन खेती राम्रो फल्ने गरेको भए पनि सिँचाई सुविधाको अभावले समस्या हुने गरेको हिमालीका ड्रयागन कृषक बिष्णुराज पाण्डेले बताए । भनेको समयमा ड्रयागन खेतीले पानी नपाउँदा बोट विरुवा हुर्कन तथा फल समस्या हुने गरेको कृषक पाण्डेको भनाइ छ ।
उनका अनुसार आफूले करिब चार रोपनी खेतीमा आठ सय बोट लगाएको ड्रयागन खेती राम्रो फल्ने तर सिँचाइको अभावमा सोचेजस्तो नहुने बताए । सिँचाइ र बजारिकरणको सुविधा भएको खण्डमा राम्रो आम्दानी गर्न सकिने कृषक पाण्डेको भनाइ छ ।
पाण्डेले हिमाली गाउँपालिका वडा नं ६ धुलाचौरस्थित डाँरियामा ड्रयागन खेती गर्दै आएका हुन् । उनले हिमाली बहुउद्देश्यीय कृषि फर्ममार्फत कृषि ज्ञान केन्द्र बाजुराको सहकार्यमा ड्रयागन खेती शुरू गरेका हुन् ।
कृषक पाण्डेले चार लाख ७० हजारको अनुदान रकम र बाँकी चार लाख आफ्नो लगानीमा खेती गरिरहेका छन् ।
ज्ञान केन्द्र बाजुराको ५० प्रतिशत अनुदान रकमले चितवनबाट ड्रयागन फलफूल बिरुवा ढुवानी र खरिद गरेर उनले खेती शुरू गरेका हुन् ।
जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिका वडा नं ३ जुकोटमा पनि ड्रयागन खेती गरिएको छ । उक्त खेती पनि सिँचाइ असुविधाका कारण समस्यामा पर्ने गरेको छ ।
अन्तिमजङ्ग शाहीले पालिकाको वडा नं ४ खोलीकुनामा आफ्नै नमूना कृषि फर्म सञ्चालन गरी ड्रयागन खेती गरेका छन् ।
पछिल्लो समय जिल्लाको बुढीगङ्गा नगरपालिकामा पनि ड्रयागन खेती गर्न थालिएको छ । ड्रयागन खेतीबाट राम्रो उत्पादन हुने भए पनि पानीको असुविधाका कारण कृषकलाई बोट जोगाउन मुस्किल हुने गरेको छ ।
ड्रयागन फलको तौल दुई ग्रामदेखि १दशमलव२ केजीसम्मको हुने गरेको छ । यसको खेती खासगरी थाइल्याण्ड, चाइना, भियतनाम, इन्डोनेसिया, ताइवान, जापान, कोरिया तथा दक्षिण अमेरिकी मुलुक (कोलम्विया, मेक्सिको, ब्राजिल, अर्जेटिना) आदिमा गर्ने गरिन्छ भने अहिले यो खेती नेपालमा समेत गर्न थालिएको छ ।
यस फलमा १२ प्रकारका मिनिरल्स तथा भिटामिन पाइने, र क्यान्सरविरुद्ध प्रतिरोधात्मक गुणका साथै जस्तोसुकै माटोमा पनि यो खेती हुने गरेको छ । यस फलको जातमा रातो बोक्रा, पहेँलो बोक्रा र सेतो रङ हुने गरेको छ । ड्रागन फल गर्मी र सुक्खा हावापानीमा हुने सिउँडी प्रजातिको फलफूल हो ।