लिस्नेमा जीप दुर्घटना हुँदा सात जनाको घटनास्थलमै मृत्यु, १० घाइते
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ७ शुक्रबार
1.1k
Shares
रुकुम पश्चिम । रुकुम पश्चिममा शुक्रबार साँझ जीप दुर्घटना हुँदा सात जनाको घटनास्थलमै ज्यान गएको छ। दुर्घटनामा १० जना घाइते भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा जिल्लाको आठबिसकोट नगरपालिका वडा नं २ स्यालाका ३० वर्षीया कमला वली, सोही स्थानका १६ वर्षीय टेकजङ्ग बुढा, १५ वर्षीया दिलमाया बूढा, १७ वर्षीया मनिका वली, १८ वर्षीया शर्मिला विक, २२ वर्षीय गोपाल वली र पहिचान नखुलेको एक जना छन् । घाइतेलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल सल्ले पुर्याइएको छ ।
जिल्ला सदरमुकाम खलङ्गाबाट आठबिसकोट नगरपालिका वडा नं २ स्यालाखदी जाँदै गर्दा रा१ज ४२२ नम्बरको जीप पश्चिम बाँफीकोट गाउँपालिका वडा नं ७ लिस्नेस्थित भित्री सडकखण्डमा दुर्घटना भएको हो ।
जीप सडकदेखि सात मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिए । दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।