बैतडी। बैतडीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाटन नगरपालिका-६ सुकेलीका अन्दाजी ५८ वर्षीय प्रेमसिंह बिष्ट रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बल्देव बडूले जानकारी दिए ।
उनका अनुसार बिहीबार अपरान्ह ४ बजेतिर घरबाट सिउडे जान्छु भनि हिँडेका बिष्ट शुक्रबार मृत फेला परेका हुन् ।
बिहीबार अबेरसम्म घर नफर्केपछि घरपरिवारले बिष्टको खोजीका लागि इलाका प्रहरी कार्यालय पाटनमा खबर गरेको थियो ।
सोही अनुसार खोजी गर्दै जाँदा दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका-४ अन्नाडी मोडबाट करिब एक सय मिटर तल बिष्टको शव फेला परेको हो ।
बिष्टले चलाएको सुपप्र ०१-०११ प ७१५१ नम्बरको मोटरसाइकल पनि सडकबाट तल खसेको अवस्थामा फेला परेको प्रहरी निरीक्षक बडूले बताए ।
विस्टको शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा राखिएको र घटनाका बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस