जेन-जी युवामाथि वडाध्यक्षको नेतृत्वमा सामूहिक आक्रमण
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ७ शुक्रबार
1.6k
Shares
सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिका वडा नं १ मा वडाध्यक्षकै नेतृत्वमा जेन-जी युवामाथि सामूहिक कुटपिट भएको छ ।
वडाध्यक्ष रामेश्वरप्रसाद महतो, उनका आफन्त मुकेश, अजय, अनिल महतो र सहयोगी राम साह, विजय महतो तथा शंकर महतोलगायतको समूहले किसनपुरका जेन-जी युवा विवेकानन्द गुप्तामाथि कुटपिट गरेको स्थानीयले बताएका छन् ।
स्थानीयका अनुसार महतो पक्षले गुप्ताको घरमै पुगेर घेराउ गर्दै आक्रमण गरेको हो । घटनापछि गाउँमा तनावपूर्ण वातावरण सिर्जना भएको थियो ।
त्यसपछि प्रहरीको टोली घटनास्थलमा पुगेको थियो । प्रहरी पुगेपछि तनाव नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता सरोज राईका अनुसार वडाध्यक्षको टोली युवाको घरमा कुटपिट गर्ने शैलीमा प्रवेश गरेपछि तनावपूर्ण अवस्था बनेको बुझिएको छ ।
यता वडाध्यक्ष महतोलाई सम्पर्क गर्दा उनले केही बोल्न चाहेनन् । उनले आफू गाउँभन्दा बाहिर रहेको बताए ।
घटनाको शुरुआत वडा कार्यालयको मोटरसाइकल प्रयोगसम्बन्धी विवादबाट भएको बताइन्छ । गत कार्तिक २ गते वडासचिव रमन लुइँटेलको मोटरसाइकल अध्यक्ष महतोले आफ्नो प्रयोजनका लागि लिएका थिए ।
सचिवलाई जानकारी नदिई मोटरसाइकल लगिएको भन्दै केही जेन-जी युवाले सामाजिक सञ्जालमा ‘वडाध्यक्षले मोटरसाइकल चोरी गरेका हुन्’ भन्ने पोस्ट गरेपछि विवाद चर्किएको हो ।
सोही पोस्टको प्रतिशोधस्वरूप वडाध्यक्ष पक्षले विवेकानन्द गुप्तामाथि कुटपिट र गालीगलौज गरेको जेन-जी युवाले बताएका छन् ।
वडा कार्यालयका सहयोगी पशुपति महतोका अनुसार आइतबार राति करिब १० बजे कार्यालय खोल्दा अध्यक्षले लगेको मोटरसाइकल फर्काएर त्यही राखिएको पाइएको थियो ।
वडासचिव रमन लुइँटेलले पनि घटना पुष्टि गर्दै भने, ‘वडा अध्यक्षले मेरो मोटरसाइकल बिना अनुमति लग्नु चोरी नै हो ।’
यस घटनापछि जेन–जी समूहका नेता उदय प्रकाश साहको नेतृत्वमा युवाहरूले वडा अध्यक्षविरुद्ध कारबाहीको मागसहित विरोध प्रदर्शन गरेका छन् ।
उनीहरूले ‘वडा अध्यक्षलाई पक्राउ गर’ भन्ने नारासहित प्रदर्शन गरेका थिए । घाइते विवेकानन्द गुप्ताले आफूले पटक-पटक वडा अध्यक्षको अनियमित कार्यको विरोध गर्दै आएको र त्यसकै कारण आफू लक्षित कुटपिट भएको बताए ।