काठमाडौँ । काठमाडौँको तार्केश्वर नगरपालिका-३ चिसापानी सडकखण्डमा मोटरसाइकल दुर्घटनामा घाइते भएका अमित पुतुवारको उपचारको क्रममा मृत्यु भएको छ ।
तार्केश्वर नगरपालिका पुसल बस्ने २६ वर्षीय पुतुवारको स्थानीय सिटी अस्पतालमा उपचारका क्रममा बिहीबार बिहान मृत्यु भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवदीले जानकारी दिए ।
उनले भने,“बिहान करिब ३ः४५ बजे तार्केश्वर-३ चिसापानीस्थित सडक खण्डअन्तर्गतको तीनपिप्लेबाट धर्मस्थलीतर्फ आउँदै गरेको बा.प्र.०२-०५३ प ९६७९ नम्बरको बाइक अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किएर गम्भीर घाइते भएका चालक पुतुवारको सिटी अस्पताल तार्केश्वरमा उपचारका क्रममा मृत्यु भएको हो ।”
सोही मोटरसाइकलमा सवार तार्केश्वर नगरपालिका-३ का २० वर्षीय समिर पुतुवारको हात, खुट्टा, टाउको र छातीमा चोट लागेकाले चिकित्सकको सल्लाहमा थप उपचारका लागि निजलाई महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल पठाइएको प्रवक्ता सुवेदीले जानकारी दिए ।