ओली बालकोटमा : गृहमन्त्री अर्यालले आफूसँग गम्भीर दुश्मनी लिएको आरोप
'अपराधीलाई कारबाही नगरेर अर्को आन्दोलनको बीजारोपण हुँदै'
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ५ बुधबार
1.7k
Shares
काठमाडौँ। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गृहमन्त्री ओमप्रकाश अर्यालले आफूसँग गम्भीर दुश्मनी लिइरहेको आरोप लगाएका छन्।
बुधवार जेन–जी प्रदर्शनकारीहरूको आगजनी, तोडफोड र लुटपाटमा परी ध्वस्त बनाइएको बालकोटस्थित आफ्नो निजी निवासको अवलोकनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले यस्तो आरोप लगाएका हुन्।
उनले सरकारले आन्दोलनको क्रममा अपराधिक कार्यमा संलग्नहरूलाई कारबाही नगरेर मुलुकमा अर्को आन्दोलनको बीजारोपण गरिरहेको आरोप लगाए। सरकारले आन्दोलनका पीडितहरूलाई न्याय दिलाउनुको सट्टा दुस्मनी साँधिरहेको उनको भनाइ छ। सरकारको ध्यान भ्रष्टाचार नियन्त्रण गरी मुलुकमा सुशासन कायम गर्नुमा नरहेको उनको जिकिर छ।
अध्यक्ष ओलीले भने, “आन्दोलनको क्रममा लुटपाट गर्नेहरू वरपरकै थिए। सरकारले पक्राउ गर्ने कुरै छैन। यस्तो अपराधिक क्रियाकलापमा संलग्नहरू विदेशका नभई यहीं वरपरका थिए। अहिले पक्राउ गर्न सरकार तयार छैन। झन् पक्राउ परेकाहरूलाई पनि छोडिरहेको छ। उनीहरू कालान्तरसम्म पक्राउ होलान्।”
उनले सरकारको मनसाय गृहमन्त्रीले हिजो टेलिभिजनमा दिएको अन्तरवार्ताबाट देखिएको भन्दै दुःख परेकामाथि गृहमन्त्रीको दुस्मनी रहेको र त्यसमा पनि आफूसँग गृहमन्त्रीको गम्भीर दुश्मनी रहेको आरोप लगाए। उनले जेन–जी आन्दोलनकारीबाट आफैंमाथि दबाब बढाएर केहीलाई पक्राउ गर्न सरकार उद्दत रहेको गम्भीर आशङ्का व्यक्त गरे।
ओलीले जेन–जी पुस्ताका अगुवाहरूमार्फत आफैंमाथि दबाब बढाएर आफूसहितका नेताहरूलाई पक्राउ गर्ने मनसाय सरकारमा रहेको आशङ्का व्यक्त गरे।