झापा। जिल्ला निर्वाचन कार्यालयका अनुसार झापामा हालसम्म दुई हजार ६२२ नयाँ मतदाता थपिएका छन्। यी मतदाताले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा पहिलोपल्ट मतदान गर्न पाउनेछन्।
जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी प्रेमप्रकाश न्यौपानेका अनुसार, थपिएका मतदातासहित झापामा अब मतदाताको कुल सङ्ख्या छ लाख ८२ हजार ९९३ पुगेको छ। यसअघि झापामा छ लाख ८० हजार ३७१ जना मतदाता थिए।
अन्तरिम सरकारले अध्यादेशमार्फत निर्वाचन कानून संशोधन गरेर नयाँ मतदाता अद्यावधिक गर्ने निर्णय गरेपछि हाल उमेर पुगेका नागरिकले मतदाताको सूचीमा नाम दर्ता गराउने क्रम तीव्र छ। सूचना अधिकारी न्यौपानेले भने, "एकै दिन तीन सय जनासम्म मतदाताको सूचीमा नाम दर्ता गराउन आउने गर्नुभएको छ। नयाँ पुस्तामा निर्वाचनमा भाग लिने उत्सुकता बढेको पाइएको छ।"
कात्तिक २ गतेसम्ममा थपिएका मतदाताको सङ्ख्या दुई हजार ६२२ पुगेको हो। निर्वाचन कार्यालयले नयाँ मतदाताका लागि कात्तिक ३० गतेसम्म नाम दर्ता गर्ने समयसीमा तोकेको छ।