कोरला नाका पूर्ण सञ्चालनपछि मुस्ताङ भन्सारले गर्यो तीन अर्बको राजस्व सङ्कलन
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ५ बुधबार
844
Shares
मुस्ताङ। नेपाल–चीन उत्तरी कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयले गत भदौ ३१ गते पूर्ण रुपमा व्यापारिक मार्गको रुपमा सञ्चालनमा आएपछि मङ्गलबारसम्म रु तीन अर्ब एक करोड ४४ लाख ३६ हजार बराबरको राजस्व सङ्कलन गरेको छ।
न्हेचुङस्थित मुस्ताङ भन्सार कार्यालयका प्रमुख रमेश खड्काले दिएको जानकारीअनुसार, भन्सार कार्यालयले मङ्गलबारसम्म चीनबाट आयातनिर्यात गरिएका ६६४ वटा मालवाहक कन्टेनरको जाँचपास गरी गन्तव्यमा पठाएको छ। यसमध्ये ६५७ वटा कन्टेनर चीनबाट कोरला नाका हुँदै आयात भएका थिए भने नेपालतर्फबाट सात वटा मालसामान कन्टेनर भन्सार जाँचपास भई चीनतर्फ निकासी भएका छन्।
कोरला नाकाबाट चीनबाट पैठारी गरिएका मालसामानहरूमा दसैँ–तिहार लक्षित रेडिमेड लत्ताकपडा, कस्मेटिक र इलेक्ट्रोनिक सामान रहेका छन् भने नेपालतर्फबाट हस्तकला सामग्री र नेपाली उत्पादन निकासी भएको छ। यसैगरी, हालसम्म कोरला नाका हुँदै चीनबाट पैठारी गरिएका एक हजार ४९८ वटा विद्युतीय कारको भन्सार जाँचपास भई गन्तव्यतर्फ प्रस्थान गरिसकेको छ।
भन्सार विभागले तातोपानी नाका र रसुवागढी नाका अवरुद्ध भएपछि कोरला नाकालाई वैकल्पिक नाकाका रूपमा सञ्चालनमा ल्याएको थियो। यसैबीच, नाकालाई पूर्ण रुपमा सञ्चालनमा ल्याउन विभागले मुस्ताङ भन्सार कार्यालयलाई अनलाइन प्रणाली 'आशिकुडा प्रणाली' मा जोडेको छ र व्यापारिक आयातनिर्यातलाई सहज तुल्याउन भन्सार प्रतितपत्र (एलसी) खोल्न अनुमति दिएको छ।
भन्सार प्रमुख खड्काले नाका पूर्ण रुपमा सञ्चालनमा आए पनि बाह्रै महिना आयातनिर्यात गर्न चिसो र उच्च भूगोलका कारण चुनौती हुने बताएका छन्। कोरला नाका ४६१० मिटरको अग्लो उचाइमा रहेकाले ढुवानीका साधनहरू चिसोले इन्धन जमेर स्टार्ड नहुने र धकेलेर तल झार्नुपर्ने बाध्यता रहेको उनले बताए। नाकालाई बाह्रै महिना एकैनासले सञ्चालन गर्न सडकको अवस्थामा सुधार र नाकामा आवश्यक पूर्वाधार निर्माण गर्नुपर्ने आवश्यकता रहेको प्रमुख खड्काले औँल्याए।
यसअघि, यो नाका २०८० कात्तिक २७ गते उपल्लो मुस्ताङका नागरिकका लागि मात्रै घरायसी मालसामान किनमेल गर्न चीन पक्षले बाह्रै महिना खुला गरेको थियो।