दलहरूसँग प्रधानमन्त्री कार्कीको चुनाव केन्द्रित छलफल
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ४ मंगलबार
3.8k
Shares
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनको तयारीका विषयमा राजनीतिक दलका नेताहरूसँग छलफल गरेकी छिन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मुख्य दलहरु नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, रास्वपा, जसपालगायतका नेताहरूलाई डाकेर प्रधानमन्त्री कार्कीले छलफल गरेकी हुन् ।
अन्तरिम सरकारले आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन गराउने घोषणा गरे तापनि हालसम्म चुनावको वातावरण सिर्जना हुन नसकेको भन्दै राजनीतिक दलहरूले असन्तुष्टि जनाउँदै आएका छन् ।
सरकारले भने दलहरुलाई आश्वस्त पार्दै चुनावी तयारीमा लाग्न आग्रह गर्दै आएको छ ।
यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले पनि प्रधानमन्त्री कार्कीको उपस्थितिमा दलहरूसँग यसबारे छलफल गरेका थिए ।
यता कांग्रेसले भने चुनावको वातावरण बनाए चुनावमा सहभागी हुने जनाएको छ । कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले मंगलबार मात्रै सरकारले उचित वातावरण बनाए आफ्नो पार्टी निर्वाचनमा सहभागी हुने बताएका छन् ।
सुर्खेतमा आयोजित त्यहाँका पूर्वपार्टी सभापति गोविन्दबहादुर मल्लको १३औँ पुण्यतिथिमा आयोजित श्रद्धाञ्जलीसभामा उनले चुनावका लागि बन्नुपर्ने सबै वातावरण बने पार्टी चुनावमा जान तयार रहेको बताएका हुन् ।
हालसम्म सरकारले चुनाव गराउने भरपर्दो कामहरू भने नगरेको कावा सभापति खड्काको भनाइ थियो ।
सरकारले चुनाव गराउने हो भने पवित्र उद्देश्यसहित ‘जेनजी’ ले गरेको प्रदर्शनमा घुसपैठ गरेर लुटिएका हतियारहरू फिर्ता, प्रहरी र सुरक्षा निकायको मनोबल बढाउनुपर्नेमा जोड दिँदै उनले चुनावमा भाग लिने दलहरूलाई विश्वासमा लिइ आम मतदातामा सुरक्षाको प्रत्याभूति गराउनुपर्ने सुझाव दिए ।
कावा सभापति खड्काले सरकार चुनावको वातावरण बनाउन छोडेर पार्टीका नेताहरूमाथि पूर्वाग्रही तरिकाले लाञ्छना लगाउने, भ्रम सृजना गर्ने र अन्योललाई बढाउने काममा लागेको आरोप लगाए ।
उनको भनेका छन्,“हामी कुनै पनि खालको कानूनी प्रक्रियाबाट हुने छानबिन अनुसन्धानहरूमा खुल्ला छौँ, तर सरकारमा रहेका जिम्मेवार व्यक्तिबाट भ्रम सृजना गर्ने, अनेक लाञ्छना लगाउनेलगायतका कार्यहरू भइरहेको छन् । यसतर्फ म सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।”
यता एमालेले संसद पुनस्थापनाको मुद्धालाई अगाडि सारेको छ भने माओवादी केन्द्रले सरकारले चुनाव गराउने लक्षण नल्याएको बताउँदै आएको छ । रास्वपा, राप्रपा लगायतका दलहरुले ‘अर्लि इलेक्सन’ को माग पहिले पनि राखेकाले फागुन २१ उनीहरुले खोजेजस्तै भएको विश्लेषण गरिएको छ ।