लक्ष्मीपूजाको रात तीन ठाउँमा आगलागी, करोडौँको क्षति
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ४ मंगलबार
1k
Shares
सर्लाही । सर्लाहीका छुट्टाछुट्टै तीन स्थानमा आगलागी करिब दुई करोड ५० लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ ।
यी तीन स्थानमै लक्ष्मीपूजाको रात आगलागी भएकाे हाे । राति साढे ११ बजेतिर लालबन्दी नगरपालिका वडा नं ५ मेजरगन्जस्थित कैलाश साहको किराना गोदाममा आगलागी भएको हो ।
जस्ताले छाएको इँटाको एकतले गोदाममा लागेको आगो नियन्त्रणका लागि नेपाली सेनाको कालिध्वज गण पाँचकुमारी ब्यारेकका प्रमुख सेनानी उमेश खड्का र इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक वीरेन्द्रसिंह जोहारीको टोली खटिएको थियो ।
नेपाली सेनाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा करिब एक घण्टापछि आगो नियन्त्रणमा लिन सकिएको थियो ।
प्रारम्भिक अनुमान अनुसार आगलागीबाट दुई करोड रुपैयाँ बराबरको किराना सामान जलेर नष्ट भएको लालबन्दी प्रहरीले जनाएको छ ।
मैनबत्तीबाट आगो सल्किएको आशंका गरिएको पनि आधिकारिक पुष्टि भने भएको छैन ।
यस्तै, कविलासी नगरपालिका वडा नं १, पिपरियास्थित बब्लु मण्डलको घरमा दीपावलीको दियोबाट आगलागी हुँदा घर र सरसामान जलेर करिब चार लाख ३० हजार रुपैयाँ बराबरको क्षति भएको अस्थायी प्रहरी पोष्ट पचगछियाले जनाएको छ ।
यस्तै, चक्रघट्टा गाउँपालिका वडा नं ५ का श्यामसुन्दर रायको घरमा विद्युत सर्ट भएर लागेको आगोले कपडा, पंखा र केही नगद जलेर करिब ५० हजार रुपैयाँ बराबरको क्षति पुगेको प्रहरीले जनाएको छ ।
तीनै ठाउँमा सुरक्षाकर्मी र स्थानीयवासीको समयमै सक्रियताका कारण ठूलो जनधन क्षति हुनबाट जोगिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।