arrow

चितवनमा दुई सय ४६ जनामा स्क्रब टाइफसको सङ्क्रमण

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ३ सोमबार
scrub-typhus..jpg

चितवन। चितवन जिल्लाका विभिन्न अस्पतालमा उपचाररत २४६ जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको छ। यहाँका अस्पतालमा आएका चार हजार १०८ जनाको परीक्षणका क्रममा उनीहरूमा सङ्क्रमण पुष्टि भएको हो।

जनस्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रक राम केसीका अनुसार, सङ्क्रमितमध्ये १८१ जना चितवनका हुन् भने ६५ जना जिल्लाबाहिरका रहेका छन्। चितवनभित्र पनि सबैभन्दा बढी रत्ननगर नगरपालिकाका ६१ जना र त्यसपछि खैरहनी नगरपालिकाका ४३ जनामा सङ्क्रमण देखिएको छ। भरतपुर महानगरपालिकामा २५, राप्तीमा २०, कालिकामा २३, इच्छाकामना गाउँपालिकामा पाँच र माडी नगरपालिकामा चार जना सङ्क्रमित भेटिएका छन्।

स्क्रब टाइफस रोग मुसाको कानमा वा अन्य जीवजन्तुमा हुने सङ्क्रमित किर्नाले व्यक्तिलाई टोकेपछि सर्ने गर्दछ। यस रोगका लक्षणहरूमा उच्च ज्वरो आउनु, आँखा रातो हुनु, खोकी, बान्ता, पेट दुखाइ र पखाला लाग्नु, सास फेर्न समस्या हुनु, धेरै टाउको दुख्नु, जोर्नी र मांसपेशी दुख्नु र बिमिरा देखिनु पर्दछ। किर्नाले टोकेको ठाउँमा कहिलेकाहीँ कालो दागजस्तो लक्षण पनि देखिने गर्दछ।

किट नियन्त्रक केसीले यसबाट बच्नका लागि खेत, झाडी वा वनजङ्गलमा जाँदा लामो बाहुला भएको कपडा र उपयुक्त जुत्ता लगाउन तथा शरीरको खुला भागमा कीटनाशक मलमको प्रयोग गर्न सुझाव दिएका छन्। साथै, घर वरपरको वातावरण सफा राख्न र मुसा नियन्त्रणका लागि उपयुक्त किसिमको अन्न भण्डारण गर्नुपर्ने उनले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ