त्रिवि जग्गा हिनामिना: उपयुक्त कदम चाल्ने मन्त्री पुनको प्रतिबद्धता, अख्तियारमा पठाइने
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ३ सोमबार
1.3k
Shares
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले त्रिभुवन विश्वविद्यालय (त्रिवि) को जग्गा खोजबिन समितिको प्रतिवेदनमा प्राप्त सुझावका आधारमा मन्त्रालयले उपयुक्त कदम चाल्ने बताएका छन्। मन्त्री पुनले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि आज आयोजित पत्रकार सम्मेलनमा सो कुरा जानकारी गराएका हुन्।
मन्त्री पुनले त्रिविको जग्गा हडपेर धेरै वर्षदेखि नाजायज फाइदा लिइरहेको अवस्था रहेको उल्लेख गर्दै समितिले औँल्याएका केही विषय कार्यान्वयनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइने जानकारी दिएका छन्। उनले भने, “समितिको प्रतिवेदनका आधारमा मन्त्रालयले उपयुक्त कदम चाल्ने छ। मन्त्रालयबाट सल्टाउन नसकिने विषयको थप छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लेखी पठाइनेछ।”
मन्त्री पुनले त्रिविको जग्गा खोजबिनसम्बन्धी समितिको प्रतिवेदन अपूरो रहेको उल्लेख गर्दै अझै गहन छानबिन गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्। समितिको सिफारिसलाई नै टेकेर अर्को छानबिन समिति बनाउने तयारी गरिएको उनको भनाइ छ।
यसैगरी, उनले सुदूरपश्चिम विश्वविद्यालयको पनि धेरै जग्गा हडपेको भन्ने उजुरी मन्त्रालयमा प्राप्त भएकाले त्यसका लागि पनि छानबिन समिति गठन गरिने जानकारी दिएका छन्।
मन्त्री पुनले पछिल्लो समय प्रविधिको विकास भएअनुसार हाम्रा विद्यार्थी पछि नपरून् भनेर माध्यमिक तहसम्म एक सय पूर्णाङ्कको ‘कम्प्युटर’ विषय थप गर्ने निर्णय भएको पनि जानकारी दिएका छन्।