चाडपर्वको नाममा सुरक्षामा सम्झौता गर्न पाइँदैनः प्रहरी वरिष्ठ उपरीक्षक अधिकारी [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ३ सोमबार
893
Shares
काठमाडौँ । गत भदौ २३ र २४ को जेनजी आन्दोलनको केही समय ट्राफिक प्रहरीका लागि कष्टप्रद रहे ।
नेपाली सेना सडकबाट ब्यारेकमा फर्किएपछि नियमित सेवाका लागि सडकमा खटिएका कतिपय ट्राफिक प्रहरीसँग युनिफर्म थिएन, जुत्ता थिएनन् । सामान्य कपडामा चप्पल लगाएरसमेत सवारी व्यवस्थापनमा उनीहरू खटिए । अहिले उनीहरू पूर्ण रुपमा पहिलेकै अवस्थामा सेवा दिने भइसकेका छन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीका अनुसार अहिले नियमित ट्राफिक चेकिङ शुरू भइसकेको छ । ट्राफिक नियम उल्लंघन गर्नेहरूलाई जरिवाना र कारवाही प्रक्रिया पनि शुरू भइसकेको छ । मापसे चेकिङ पनि ६०-७० ठाउँमा शुरू भइसकेको छ । बाइक मोडिफाइ, चोरीमा पनि सक्रियता बढाएको छ ।
चाडपर्वको समयमा मापसे गरेर सवारी चलाउँदा हुन सक्ने जोखिम न्यूनीकरण गर्न चेकप्वाइन्ट खडा गरी ट्राफिक चेकजाँच बढाइएको छ ।
‘सरप्राइज चेकजाँच पनि हुन्छ । चाडपर्वको नाममा सुरक्षामा सम्झौता गर्न पाइँदैन । कारवाही भन्दा अघि सचेतनामा पनि जोड दिन्छौँ । नागरिकले म पनि बिना बर्दीको प्रहरी हो भन्ने भावना राख्नुपर्छ,’ उनले भने, ‘बढी जाम हुने ठाउँ लोकेट गरेर अतिरिक्त जनशक्ति पठाउँछौँ । पार्किङको समस्या छ त्यमा पनि ध्यान दिन्छौँ । ट्राफिक लाइट पनि व्यवस्थित गरिरहेका छौँ। स्पिड मापन गर्ने मेकानिज्म सञ्चालन छ, कारबाही पनि भइरहेको छ ।’
नागरिक एपले काम नगरेका कारण अनलाइन सिस्टम भने अहिले चलेको छैन । यातायात व्यवस्था विभागको सर्भरले पनि काम नगरेको हुनाले अनलाइन सेवा भने सूचना नै जारी गरेर बन्द गरेको छ । सबै कुरा भौतिक रुपमै भइरहेको छ । ’मापसे कक्षा तिहार लगत्तै शुरू हुन्छ । अहिलेसम्म चिट काटिएकाहरूले तिहारपछि क्लास लिनुपर्ने हुन्छ ।
‘ब्रेथलाइजर कम भएर मापसे चेकिङ कम भएको होइन । चेकिङ नियमित रुपमै भइरहेकै छ,’ अधिकारीले भने ।
नागरिकले भवन मर्मत तथा पुनर्निर्माणमा देखाएको सदासयता र न्यानो मायाले मनोबल बढेको तर व्यवस्थापकीय कुराहरू भने धेरै गर्नु पर्ने आवश्यकता रहेको उनले बताए ।
‘मनोबल अझै बढाउन रिफ्रेसमेन्ट पनि गरिरहेका छौँ । कहिले फिल्म हेर्न जाने कहिले हाइकिङ जाने गरिरहेका छौँ । आन्तरिक रुपमा पनि विभिन्न कार्यक्रम गरिरहेका छौँ । नेपाल प्रहरीसँग अनुभव आदानप्रदान गर्ने गरिरहेका छौं । पहिलेको भन्दा पनि प्रभावकारी र परिष्कृत सेवा दिने कोसिस गरिरहेका छौँ,’ उनले भने ।
जेनजी आन्दोलनका क्रममा कुल ७८ वटा युनिटमा क्षति पुगेकोमा ६ वटामा बाहेक सबै ठाउँमा ट्राफिक पुनस्र्थापना भइसकेको छ ।
‘कागजात केही रेकर्डेड छ नभएको हकमा अनलाइन आवेदन दिए हामी सिफारिस दिन्छौं यायातायत कार्यालयमा गएर बनाउन सकिन्छ,’ अधिकारीले भने ।