arrow

बनाइँदै चुनावी माहोल

सरकारलाई भयरहित वातावरणमा निर्वाचन हुन्छ भन्ने विश्वास दिलाउन लाग्न राष्ट्रपति पौडेलको आग्रह

स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा चुनाव गराउन सरकारले कुनै कसर बाँकी नराख्ने प्रधानमन्त्री कार्कीको भनाइ, शान्तिसुरक्षा कायम गर्ने र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन सक्षम रहेको सुरक्षा निकाय प्रमुखहरूको दृढता

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १ शनिबार
ramchandra-interim-government-securities-82-7-1.jpg

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भयरहित वातारणमा स्वतन्त्र, स्वच्छ र निष्पक्ष निर्वाचन हुन्छ भन्ने विश्वास दिलाउने वातावरण बनाउन सरकार र सुरक्षा निकायका प्रमुखलाई आग्रह गरेका छन् । 

राष्ट्रपति भवन शितल निवासमा आज अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसहित मन्त्रीहरूको सहभागितामा भएको छलफलमा चारै सुरक्षा निकायका प्रमुखलाई राष्ट्रपति पौडेलले राजनीतिक दल र आमनागरिकलाई चुनावबारे आश्वस्त बनाउन आग्रह गरेका हुन् । 

उनले शान्तिसुरक्षा कायम गर्न र भयरहित वातावरणमा निर्वाचन गराउन सुरक्षा निकायले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । राष्ट्रपति पौडेलले भदौ २४ गते लुटिएका हतियार र भागेका कैदीबन्दी सबैलाई अविलम्ब फिर्ता गर्न आग्रह गरे । 

प्रधानमन्त्री कार्कीले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा चुनाव गराउन सरकारले कुनै कसर बाँकी नराख्ने बताइन् । उनले पूर्ण तयारी र सुरक्षा निकायलाई चाहिने सम्पूर्ण साधनस्रोत उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताइन् ।

सुरक्षा निकाय प्रमुखहरूले शान्तिसुरक्षा कायम गर्ने र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन सुरक्षा निकाय सक्षम रहेकाबारे आश्वस्त पारे् । 

उनीहरूले विगतमा योभन्दा कठिन परिस्थितिमा पनि शान्तिपूर्वक निर्वाचन सम्पन्न गराएको स्मरण गराउँदै सुरक्षा निकाय सम्पूर्ण रूपले निर्वाचनका लागि तयार रहेको पनि बताए ।

छलफलमा प्रधामन्त्री कार्की, अर्थमन्त्रीबाहेक सबैमन्त्री, प्रधानसेनापति अशोकराज सिग्देल, प्रहरी महानिरीक्षक चन्द्र कुँवेर खापुङ, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्कीको सहभागिता थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ