खुल्यो दुई ठूला अन्तरदेशीय प्रसारण लाइन निर्माणको बाटो
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ३१ शुक्रबार
1.1k
Shares
काठमाडौँ । दुईवटा ठूला नेपाल-भारत अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि बाटो खुलेको छ ।
बिहीबार बेलुका बसेको मन्त्रिपरिषद बैठकले इनरुवा-पूर्णिया ४०० केभी र दोधारा-बरेली ४०० केभी अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्न तीन अर्ब रुपैयाँ बजेट स्वीकृत गरेसँगै प्रसारण लाइन निर्माणको बाटो खुलेको हो ।
मन्त्रिपरिषदको बैठकले नेपाल विद्युत प्राधिकरण र भारतको पावर ग्रीड कर्पोरेशन अफ इण्डिया लिमिटेडको संयुक्त लगानीमा प्रसारण लाइन निर्माण गर्न नेपाल तथा भारत दुवै भूमिमा दुईवटा संयुक्त कम्पनी स्थापना गर्ने र प्राधिकरणबाट क्रमशः एक अर्ब र दुई अर्ब रुपैयाँ बराबरको स्वपुँजी लगानी गर्न अनुमति दिने निर्णय गरेको हो ।
यसअघि गत माघमा नेपाल-भारत सचिव स्तरीय संयुक्त निर्देशक समितिको १२औं बैठकले यी दुई परियोजना संयुक्त उपक्रममार्फत निर्माण गर्ने निर्णय गरेको थियो ।
यस प्रसारण लाइनमा नेपालतर्फ ५१ प्रतिशत लगानी नेपाल विद्युत् प्राधिकरणको र ४९ प्रतिशत भारतको पावर ग्रीडको रहने निर्णय भएको थियो । भारततर्फ पनि सोही अनुपातमा लगानी हुने र संयुक्त कम्पनी स्थापना कार्य एक महिनाभित्र शुरू गर्ने सहमति भएको थियो ।
इनरुवा- ४०० केभी प्रसारण लाइनका लागि एक अर्ब रुपैयाँ र दोधारा-बरेली ४०० केभीका लागि २ अर्ब रुपैयाँ स्वपूँजी लगानी गर्ने सरकारको योजना छ ।
ठूला क्षमताका अन्दरदेशीय प्रसारण लाइन निर्माणमा भएको ढिलाइले गर्दा विद्युत निर्यातमा समेत समस्या भएको गुनासोहरू बढेको समयमा सरकारकारले यस्तो निर्णय गरेको हो ।
सरकारले उर्जा विकास मार्गचित्र २०८१ मार्फत सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने र त्यसमध्ये १५ हजार मेगावाट निर्यात गर्ने लक्ष्य राखेको छ । साथै सरकारले आगामी १० वर्षभित्र भारतमा १० हजार मेगावाट विद्युत निर्यात गर्ने लक्ष्यसमेत राखेको छ ।