सञ्चारकर्मीको प्रश्न, ‘मन्त्रिपरिषद् कहिले विस्तार हुन्छ ?’
प्रधानमन्त्रीको जवाफ (जङ्गिदै), ‘भएको भयै छ नि !’
सञ्चारकर्मीको अर्को प्रश्न, ‘थप विस्तार कहिले हुन्छ प्रधानमन्त्रीज्यू ?’
प्रधानमन्त्रीको जवाफ (गाडीभित्रबाट), ‘त्यो त भइहाल्छ आज भोलि मै’
काठमाडौँ । बिहीबार प्रधानमन्त्री सुशील कार्की निवासबाट प्रधानमन्त्रीको कार्यालय सिंहदरबारतर्फ जाँदै थिइन् ।
गाडी चड्ने ठाउँमा आइपुगिन् प्रधानमन्त्री । त्यही बेला सञ्चारकर्मीले प्रश्न तेर्स्याइहाले, ‘मन्त्रिपरिषद् कहिले विस्तार हुन्छ ?’ प्रधानमन्त्रीले जंगिदै ‘भएको भयै छ नि !’ भनेर जवाफ दिइन् ।
अनि पुनः सञ्चारकर्मीले थप विस्तार कहिले हुन्छ ? भन्ने प्रश्न थपे । त्यसक्रममा गाडीभित्र पसिसकेका प्रधानमन्त्रीले त्यो त भइहाल्छ आज भोलि मै भन्दै जवाफ दिएकी छन् ।
कार्की प्रधानमन्त्री नियुक्त भएको ३५ दिन पुगेको छ । हाल मन्त्रिपरिषद्मा प्रधानमन्त्रीसहित नौ जना मन्त्री छन् ।
प्रधानमन्त्री कार्कीले आफ्नो मन्त्रिपरिषद् ११ सदस्यीय बनाउने बताएकी थिइन्। बाँकी मन्त्री जेन-जी युवाका लागि छुट्याइएको बताइन्छ ।
तर जेन-जीभित्रै विवाद बढेपछि प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार गर्न नसकेकी हुन् । जेन-जीले तथा जेनजी शहीद परिवारले कम्तीमा चार मन्त्री मागेका थिए ।
बिहीबारको अभिव्यक्तिले प्रधानमन्त्री कार्की निकै तनावमा रहेको बुझ्न सकिन्छ ।
प्रधानमन्त्रीमाथि जेन-जीको दवाव, राजनीतिक दलहरूको दवाव, विभिन्न समूहको दवाव, आगामी निर्वाचनको दवाव, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिको दवाव रहेका छन् ।
साथै प्रधानमन्त्रीले गरेको संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा आधा दर्जन रिट परेसँगै प्रधानमन्त्री कार्की तनावमा रहेको धेरैको अनुमान छ ।
उनीमाथि जेन-जीहरूले जेनजीकै रगतमा उभिएको सरकारले जेनजीकै भावना बमोजिम काम गर्न नसकेको आरोप पनि लाग्दै आएको छ ।