कार्की सरकारले फिर्ता बोलायो ओली सरकारले नियुक्त गरेका ११ देशका राजदूतलाई
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ३० बिहिबार
1.4k
Shares
काठमाडौँ । केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेका विभिन्न ११ देशका नेपाली आवासीय राजदूतहरूलाई सुशीला कार्की नेतृत्वको सरकारले फिर्ता बोलाएको छ ।
बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए । उनकाअनुसार सरकारले चीन, जर्मनी, मलेसिया, इजरायल, कतार, रुस, साउदी अरब, स्पेन, संयुक्त अधिराज्य, संयुक्त राज्य अमेरिका र जापानका लागि नेपाली आवासीय राजदूतहरूलाई फिर्ता बोलाएको हो ।
उनले फिर्ता बोलाइएको आवासीय राजदूतहरुले अगामी २० कात्तिकसम्म नेपाल फर्किसक्नुपर्ने बताए ।
उनले भने, ‘चीन, जर्मनी, मलेसिया, इजरायल, कतार, रुस, साउदी अरब, स्पेन, संयुक्त अधिराज्य, संयुक्त राज्य अमेरिका, र जापानका लागि नेपाली आवासीय राजदूतहरुको रुपमा कार्यरत नेपाली राजदूतहरुलाई २०८२ कात्तिक २० गतेभित्र नेपाल फर्किन सक्नेगरी फिर्ता बोलाउने निर्णय भएको छ ।’
सरकारले भारतका लागि नेपाली आवासीय राजदूतलाई भने फिर्ता बोलाएको छैन । मन्त्री खरेलले सार्वजनिक वित्त व्यवस्थापनलाई मजबुत बनाउन विश्व बैंकबाट प्राप्त हुने १० मिलियन अमेरिकी डलरको अनुदान स्वीकृत गर्ने निर्णय भएको पनि बताए ।
उनले नेपाल–भारतबीच विद्युत् व्यापारलाई बढावा दिनका लागि दुई वटा प्रमुख ४ सय केभी अन्तरदेशीय प्रशारण लाइनहरू निर्माण गर्न भारतीय कम्पनीहरूसँग संयुक्त लगानी स्थापना निर्णय गरेको पनि बताए ।
उनले पूर्वी नेपालको इनरुवा–पुर्णिया ४ सय केभी प्रसारण लाइन र सुदूरपश्चिमको दोधारा–बरेली ४०० केभी अन्तरदेशीय लाइन निर्माणको जिम्मेवारी गर्न अनुमति प्रदान गर्ने निर्णय गरेको बताए ।