हुम्लाबाट सुर्खेत जाँदै गरेको बस बाजुरामा दुर्घटना, तीन यात्रु घाइते
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ३० बिहिबार
1k
Shares
बाजुरा । हुम्लाबाट सुर्खेततर्फ गइरहेको कर्णाली प्रदेश ०२००१ ख ०८९० नम्बरको यात्रुवाहक बस आज दिउँसो करिब १२ः११ बजे बाजुराको जगन्नाथ गाउँपालिका–३ बेर्मा बजार नजिकैको भलिया बगरमा अनियन्त्रित भई दुर्घटनामा परेको छ।
दुर्घटनामा तीन जना यात्रु घाइते भएका छन्। घाइतेहरूमा मुगु जिल्ला रारा छायानाथ नगरपालिका–३ का १८ वर्षीय विशाल बिक, दैलेख जिल्ला दुल्लु नगरपालिका–२ की दिपा सोनाम, र बाजुरा जिल्ला जगन्नाथ गाउँपालिका–६ की ४५ वर्षीया प्रेमकला दमाई रहेका छन्। प्रहरीका अनुसार घाइतेहरूको अवस्था सामान्य छ र उनीहरूको उपचार बेर्मा बजारस्थित गोपाल मेडिकलमा भइरहेको छ।
बसमा चालकसहित २३ जना यात्रु सवार थिए। बसका चालक सुर्खेत जिल्ला भेरीगंगा नगरपालिका–११ का दिपक बिक रहेका छन्। दुर्घटनाको विस्तृत विवरण र कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।