काठमाडौं। जापानका अर्थमन्त्री कात्सुनोबु कातोले चीनले हालै लगाएका दुर्लभ–पृथ्वी (खनिज) तत्व निर्यात प्रतिबन्धहरूको विरुद्धमा सात राष्ट्रको समूह (जी–७) एकताबद्ध हुनुपर्ने आवश्यकता औँल्याएका छन्।
बिहीबार वासिङ्टनमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, "गत हप्ता चीनले घोषणा गरेको दुर्लभ पृथ्वी तत्व सम्बन्धी व्यापक निर्यात प्रतिबन्धबारे जापान गम्भीर चिन्तित छ र जी–७ ले यस विषयमा संयुक्त रूपमा कदम चाल्नुपर्दछ।"
बेइजिङले अक्टोबर ९ मा दुर्लभ–पृथ्वी तत्व प्रविधि र वस्तुहरूको निर्यातमा नयाँ नियन्त्रण नीति घोषणा गरेको थियो। यी खनिजहरू अटोमोबाइल, इलेक्ट्रोनिक्स तथा रक्षा उद्योगका लागि अत्यन्तै महत्त्वपूर्ण चुम्बक निर्माणमा प्रयोग हुने गर्छन्। चीन यी खनिजहरूको प्रमुख उत्पादक देश हो।
अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले बुधवार चीनको नयाँ प्रतिबन्धको कडा आलोचना गर्दै यसलाई ‘चीन विरुद्ध विश्व’ का रूपमा व्याख्या गरेका थिए। उनले वासिङ्टन तथा उसका सहयोगी राष्ट्रहरू 'न त आदेश पालना गर्नेछन् न त नियन्त्रणमा पर्नेछन्' भन्ने दृढ प्रतिवद्धता व्यक्त गरे।
कातो र बेसेन्टका टिप्पणीहरू यसै हप्ता वासिङ्टनमा सम्पन्न हुँदै गरेको अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) र विश्व बैंकको वार्षिक बैठकका सन्दर्भमा आएका हुन्। जी–७ समूहमा संयुक्त राज्य अमेरिका र जापानका साथै क्यानाडा, फ्रान्स, जर्मनी, इटाली र बेलायत रहेका छन्। यी राष्ट्रले चीनको निर्यात नियन्त्रणको दीर्घकालीन प्रभावबारे गम्भीर छलफल अघि बढाउने अपेक्षा गरिएको छ।