काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले भदौ २३ र २४ गते जेन-जी आन्दोलनका क्रममा ध्वस्त भएको सिंहदरबार बग्गी खानास्थित ट्राफिक कन्ट्रोल रुमको पुनर्निर्माणलाई तीब्रता दिएको छ ।
देशका सबै जिल्लाको ट्राफिक व्यवस्थापन गर्ने केन्द्रीय ट्राफिक कन्ट्रोल रुम बग्गी खाना परिसरको प्राविधिक पुनर्निर्माण लागि झन्डै एक करोड रकम खर्च लाग्ने अनुमान गरिएको छ ।
सोही अनुसार काम भइरहेको छ । एनआरएनए अध्यक्ष महेशकुमार श्रेष्ठका अनुसार जेनजी आन्दोलनका क्रममा धेरै भौतिक संरचना ध्वस्त भएको र आफूहरूका तर्फबाट ट्राफिक कन्ट्रोल निर्माण गरिरहेको जानकारी दिए ।
‘धेरै अत्यावश्यक संरचना ध्वस्त भएका थिए । त्यसमध्ये हामीले के गर्ने भनेर साथीहरूबीच सल्लाह भयो। र केही साथीहरू मिलेर केही रकम संकलन गरेर करिब एक करोडको लागतमा कन्ट्रोल रुम बनाइरहेका छौँ र केही समयमा निर्माण सम्पन्न हुनेछ,’ उनले भने, ‘नेपाल सरकारका मन्त्री कुलमान घिसिङले हामीलाई सवारी लाइसन्स छाप्ने मेशिन खरिद गरिदिनुहोस् भन्नुभएको छ । त्यसमा हामी सकारात्मक छौँ।’
कन्ट्रोल रुमको काम सकेपछि करिब तीन करोड लागत पर्ने लाइसन्स मेशिन खरिद गर्नेगरी छलफल अघि बढाएको उनले जानकारी दिए ।
‘पहिलो चरणमा ट्राफिक कन्ट्रोल रुम, दोस्रोमा लाइसन्स मेशिन र तेस्रोमा ब्रेथलाइजर मेशिन खरिद गरेर सरकारलाई सहयोग गर्ने कि भन्ने सल्लाहमा छौँ,’ अध्यक्ष श्रेष्ठले भने ।
सडक सुरक्षाका लागि सबैभन्दा महत्त्वपूर्ण स्थानको रूपमा रहेको ट्राफिक कन्ट्रोल रुम पुनर्निर्माणका लागि लाग्ने सबै खर्च एनआरएनएले नै व्यहोर्ने निर्णय गरेको हो ।
बग्गी खाना ट्राफिक कन्ट्रोल रुम अत्याधुनिक संरचनासहित पुनर्निर्माण हुने भएपछि मुलुकभरको ट्राफिक व्यवस्थापन प्रभावकारी हुने अनुमान गरिएको छ ।