arrow

सांसद विकास कोष हिनामिना आरोपमा जसपाका कुशवाहा पुनः पक्राउ, सांसद पद निलम्बन

अख्तियारबाट काठमाडौँबाट पुनः पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ३० बिहिबार
sarojkumar-singh-jasapa.jpg

सर्लाही। जनता समाजवादी पार्टी (जसपा) नेपालका मधेश प्रदेश सांसद तथा पूर्व गृह राज्यमन्त्री सरोजकुमार सिंह कुशवाहा लाई सांसद विकास कोषको रकम हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँबाट पुनः पक्राउ गरेको छ। आयोगले विशेष अदालत काठमाडौँबाट पक्राउ पूर्जी जारी गरी उनलाई नियन्त्रणमा लिएको हो।

आयोगले कुशवाहामाथि विकास कोषका योजनाहरूबाट नक्कली उपभोक्ता समिति बनाएर रकम हिनामिना गरेको अभियोगमा आजै विशेष अदालतमा १६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। महोत्तरी क्षेत्र नम्बर–४ (ख) बाट निर्वाचित सिंहलाई यसअघि गत २९ जेठमा पनि पक्राउ गरी बयान लिएर तारेखमा छाडिएको थियो।

पछिल्लो अनुसन्धानमा उनले उपभोक्ता समितिहरूको नाममा कोषको रकम जम्मा गरी सो रकमबाट करिब ३७ प्रतिशत कमिसन आफ्नै र श्रीमतीको बैंक खातामा सारेको प्रमाण फेला परेको अख्तियारको दाबी छ। आयोगले यस प्रकरणमा सिंहका निजी सचिव विनोदकुमार लाल कायस्थलाई गत १२ असोजमा पक्राउ गरिसकेको छ।

कुशवाहामाथि भ्रष्टाचार मुद्दा दायर भएपछि मधेस प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले उनको प्रदेश सांसद पद निलम्बन भएको पुष्टि गरेका छन्। भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३३ र संविधानको धारा १८७(६) अनुसार सिंह स्वतः निलम्बनमा परेका हुन्।

सिंहको निलम्बनसँगै मधेस प्रदेशसभामा निलम्बित सांसदको संख्या तीन पुगेको छ। अख्तियारले यो प्रकरणमा थप अनुसन्धान जारी रहेको र संलग्न अन्य व्यक्तिहरूमाथि पनि कानुनी प्रक्रिया अघि बढाइने जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ